
धनकुटा । धनकुटाबाट प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ । दुई जना फरार भएका छन् । धनकुटा नगरपालिका-९ अन्तर्गत त्रिवेणी-मुलघाटस्थित भित्री सडक खण्डमा प्रहरीले दुईवटा मोटरसाइकलबाट गाँजा बरामद गरेको हो ।
प्रहरीलाई देख्नेबित्तिकै दुवै मोटरसाइकलमा सवार व्यक्तिहरू भाग्न खोजेका थिए । प्रहरीले प्रदेश १-०२-०४७ प ६९८१ नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ । सहिदभूमि गाउँपालिका-७ का २२ वर्षीय शुसान भनिने सुदीप राईलाई नियन्त्रणमा लिइएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।
उनी सवार मोटरसाइकलमा बाँधिएको जेब्रा झोला चेकजाँच गर्दा १९ किलो ८५० गाँजा बरामद भएको प्रहरीले जनाएको छ । अर्को को २१ प ९५६५ नम्बरको मोटरसाइकलमा बाँधिएको झोला चेकजाँच गर्दा थप २४ किलो १४० ग्राम गाँजा फेला परेको थियो ।
उक्त मोटरसाइकलका चालक र पछाडि सवार व्यक्ति भने फरार भएका छन् । दुवै मोटरसाइकलबाट ४३ किलो ९९० किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 



















