सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा लागूऔषध सेवनकर्ता र कारोबारीको संख्या वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७७/७८ देखि चालु आर्थिक वर्षको हालसम्मको तथ्याङ्क अनुसार लागूऔषध सेवनकर्ता र कारोबारीको संख्यामा वृद्धि भएको पाइएको हो ।

प्रहरीको तथ्याङ्क अनुसार लागूऔषध मुद्दा दर्ता संख्या, पक्राउ पर्ने व्यक्तिहरू तथा बरामद हुने लागूऔषधको परिमाण निरन्तर उकालो लागेको छ ।

Advertisement

चालु आर्थिक वर्षको हालसम्म लागूऔषधसँग सम्बन्धित १५ वटा मुद्दा दर्ता भइसकेका छन् । सो अवधिमा ३० जना पुरुष र १ महिला गरी जम्मा ३१ जना पक्राउ परेका छन् । हालसम्म १५ ग्राम २ सय ६५ मिलिग्राम खैरो हेरोइन, ७ किलोग्राम गाँजा र २ हजार ८० ट्याब्लेट क्याप्सुल बरामद गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी शरत कुमार थापा क्षेत्रीले जानकारी दिए ।

आर्थिक वर्ष २०८१/८२ मा ५७ मुद्दा दर्ता हुँदा ५८ जना पक्राउ परेका थिए । सो वर्ष २० ग्राम २ सय २४ मिलिग्राम खैरो हिरोइन, ४ सय १४ किलो २ सय १० ग्राम गाँजा र ४ हजार ८५ ट्याब्लेट क्याप्सुल बरामद भएको तथ्याङ्क छ ।

यस्तै आर्थिक वर्ष २०८०/८१ मा २० वटा मुद्दा दर्ता भएका थिए । सो वर्ष ३० जना पक्राउ पर्दा खैरो हिरोइन ३ ग्राम ५५० मिलिग्राम, गाँजा २५ किलो ६५ ग्राम र ट्याब्लेट क्याप्सुल ४ हजार २८७ बरामद भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७९/८० मा २१ वटा मुद्दा दर्ता भएकोमा ३६ जना पक्राउ परेका थिए । सो वर्ष ४५० मिलिग्राम खैरो हिरोइन, गाँजा ४ किलो २९ ग्राम, १ हजार ७२० ट्याब्लेट क्याप्सुल, ३ एम्पुल र ३ बोतल कोरेक्स बरामद गरियो ।

यसैगरी आर्थिक वर्ष २०७८/७९ मा २० जना पक्राउ परेकामा १० वटा मुद्दा दर्ता भएका थिए । सो वर्ष २ ग्राम ५० मिलिग्राम खैरो हिरोइन, २९ किलो ५ सय ग्राम गाँजा, ३० ट्याब्लेट, ५ एम्पुल, २ सय २ वटा गाँजाको बोट, ५२ सिरिन्ज र १६ लिगोकेन बरामद भएको थियो ।

प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७÷७८ मा लागूऔषध सम्बन्धी ५ वटा मुद्दा दर्ता हुँदा ७ जना पक्राउ परेका थिए । सो वर्षमा ६ सय ६० मिलिग्राम खैरो हिरोइन र १ सय ४५ एम्पुल डाइजेल्याब बरामद भएको थियो ।

लागूऔषध नियन्त्रणका लागि कडाइ बढाइएपनि सेवनकर्ता र कारोबारीको संख्या बढिरहेको प्रहरीले जनाएको छ । ब्राउन सुगर भित्र्याउने समूह र प्रयोगकर्तामाथि निगरानी बढाइएको र अदालतबाट पक्राउ पुर्जी लिएर फरार व्यक्तिहरूलाई धमाधम नियन्त्रणमा लिने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले लागूऔषध प्रयोगकर्ता र कारोबारी नियन्त्रणका लागि सादा पोशाकका प्रहरी तथा अन्य सुरक्षा निकायको सहकार्यमा नियन्त्रण अभियान चलाइरहेको छ । छिमेकी जिल्ला तेह्रथुम, संखुवासभा, पाँचथर र भोजपुर जिल्लासँग समन्वय गरी फरार प्रतिवादी पक्राउ गर्ने र सिमा नाकामा कडाइका साथ चेकजाँच भइरहेको प्रहरीले जनाएको छ ।

लागूऔषध प्रयोगकर्ता तथा कारोबारमा संलग्नमध्ये अधिकांश बेरोजगार, किशोर तथा विद्यार्थीहरू हुने गरेको पाइएको छ । भारतबाट भित्रिने विभिन्न लागूऔषध धनकुटामा पुग्ने गरेको छ । गाँजा खेती भने धनकुटामा नै हुँदै आएको छ ।

लागूऔषध नियन्त्रण प्रयास तीव्र बनाएको भए पनि आम नागरिकको सक्रिय सहयोग अभावमा अभियान अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको एसपी थापा क्षेत्रीले बताए । लागूऔषध सेवनकर्ता र कारोबारीको संख्या वृद्धि हुन थालेसँगै प्रहरीले अभियान चलाएर नियन्त्रणको प्रयास गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!