संगालोखबर


विराटनगर । हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि इलामको सन्दकपुरमा रेडपाण्डा महोत्सव हुने भएको छ । वन, वन्यजन्तु र प्राकृतिक वातावरणको माध्यमबाट इलामको पर्यटन प्रवर्द्धन गर्न सन्दकपुर गाउँपालिकाको आयोजनामा तेस्रो रेडपाण्डा महोत्सव हुन लागेको हो ।

महोत्सव चैत २० बाट २३ गतेसम्म हुने महोत्सव आयोजक समितिका संयोजक सनम राईले जानकारी दिए । विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक राईले लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको जानकारी दिए ।

Advertisement

सन्दकपुर गाउँपालिकाको रामसार क्षेत्र माईपोखरीबाट ढापपोखरी हुँदै जौबारी जोड्ने पदमार्गको प्रवर्द्धनका लागि यसअघि दुई पटक महोत्सव आयोजना भइसकेको उनको भनाइ छ । ४३ किलोमिटर लामो रेडपाण्डा पदमार्गको प्रचार-प्रसारका लागि महोत्सवले उल्लेख्य भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

११ करोड बढी खर्चमा ५ वर्षमा निर्माण भएको पदमार्ग क्षेत्रमा लोपोन्मुख रेडपाण्डा सहितका वन्यजन्तु र विभिन्न प्रजातिका चाराको अवलोकन गर्न सकिने संयोजक राईले बताए । १५ बढी पर्यटकीय गन्तव्य रहेको रेडपाण्डा पदमार्गबारे जानकारी दिने र पर्यटनको व्यापारमा महोत्सव केन्द्रित हुने गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए ।

सन्दकपुरमा रेडपाण्डा हेर्नकै लागी विश्वभरका पर्यटकहरू पुग्ने गरेका छन् । ४ दिनसम्म आयोजना हुने महोत्सव पुग्ने पर्यटकहरूले आदिवासी जनजातिको संस्कृति, सिमसार, पोखरीहरू, प्राकृतिक सुन्दरता, विश्वको अग्लो सगरमाथा सहित ६० बढी हिमशृङ्खलासँगै रडपाण्डा र चराहरूको अवलोकन तथा अध्ययन गर्न पाउने छन् ।

महोत्सवमा आन्तरिक र बाह्य गरि १० हजार पर्यटक आउने आयोजकको अनुमान छ । महोत्सवका प्रचार-प्रसारका लागि विराटनगर, झापाको काँकरभिट्टा, पोखरा र काठमाडौँमा अन्तरक्रिया गरिएको छ । यस्तै भारतको सिलिगुडीमा पनि अन्तरक्रिया गरिने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!