
धनकुटा । धनकुटा नगरपालिकाले नगर क्षेत्रका २६ जना किशोर तथा किशोरीहरूलाई सामाजिक तथा वित्तीय सीप रूपान्तरणसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यान्वयन तथा विश्व बैंकको आर्थिक सहयोगमा तालिम दिइएको हो ।
चैत्र ४ गतेबाट सुरुभएको तालिम आज एक कार्यक्रमबीच समापन गरिएको छ । किशोर-किशोरीलाई लक्षित गरी संचालन भएको तालिमबाट सामाजिक र वित्तीय सीप हस्तान्तरण गर्न सक्षम प्रशिक्षक तयार गर्ने जनाइएको छ ।
परियोजना कार्यान्वयन इकाइका जीबीभी विज्ञ नुषराज श्रेष्ठका अनुसार धनकुटा नगरपालिकाका १० वटै वडाका किशोर-किशोरीहरू तालिममा सहभागि भएका थिए । लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि सञ्चालित एकीकृत सेवा पहुँच परियोजनाअन्तर्गत तालिम आयोजना गरिएको बताइएको छ ।

मेरो संसार, आत्मजागरण, अधिकार र कर्तव्य, लिङ्ग र लैङ्गिकता, किशोरावस्था, राम्रो बानी, पोषण, नागरिक सहभागिता र प्राकृतिक प्रकोप लगायतका विषयमा केन्द्रित भएर तालिम प्रदान गरिएको थियो ।
तालिमपश्चात उनीहरूले नगर क्षेत्रका विद्यालयहरूमा किशोर तथा किशोरीलाई सामाजिक तथा वित्तीय सीपसम्बन्धी कक्षा सञ्चालन गर्ने धनकुटा नगरपालिका उपप्रमुख भिमादेवी खनालले जानकारी दिइन् ।
तालिमले किशोर-किशोरीहलाई बोल्न सक्षम बनाउने तथा लैङ्गिक हिंसा कम गर्न सहयोग गर्ने उनको विश्वास छ । प्रशिक्षक सन्जोग ठकुरीले किशोर-किशोरीहरूलाई दक्ष बनायो भने मात्रै देश बन्ने बताए ।

सन्तोष सुवेदी/संगालोखबर 


















