संगालोखबर


भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगर्ने निर्माण कम्पनीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा सुरु गरिएको १५ शय्याको कोट अस्पताल निर्माण कार्यलाई अलपत्र पार्ने भूमि हिमालयन जेभी, विराटनगरलाई गाउँपालिकाले कारबाहीको दायरामा ल्याएको हो ।

Advertisement

गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै उक्त निर्माण कम्पनीलाई स्पष्टीकरणसहित ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । तोकिएको समय सीमाभित्र सम्पर्कमा नआएमा प्रचलित ऐन, नियमावली तथा सम्झौताको सर्तअनुसार एकतर्फी रूपमा कारबाही प्रक्रिया अघि बढाइने सूचनामा स्पष्ट पारिएको छ ।

पटक-पटक ताकेता गर्दा समेत निर्माण कम्पनी सम्पर्कमा नआएको, निर्माणस्थल अलपत्र छाडिएको र समयमा काम सम्पन्न नगरेका कारण गाउँपालिकाले यो कडा कदम चाल्नु परेको जनाएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ तथा सम्झौतामा उल्लेखित प्रावधानअनुसार ठेक्का रद्द गर्ने, धरौटी जफत गर्ने वा अन्य प्रशासनिक कारबाही गर्ने तयारी पालिकाले गरेको छ ।

अस्पतालको भवन निर्माण कार्य समयमै सम्पन्न नहुँदा स्थानीय बासिन्दा स्वास्थ्य सेवाको पहुँच र विस्तारबाट वञ्चित भएका छन् । यस विषयमा स्थानीयले लामो समयदेखि गुनासो गर्दै आएका थिए ।

यस किसिमको गैरजिम्मेवार व्यवहारप्रति कडाइ गर्दै सार्वजनिक विकास निर्माणलाई प्रभावकारी बनाउन र समयमै सम्पन्न गराउन स्थानीय तह प्रतिबद्ध रहेको गाउँपालिकाले जनाएको छ ।

 

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!