
विराटनगर । विराटनगरमा पनि बर्डफ्लु संक्रमण पुष्टि भएको छ । आइतबार विराटनगर-४ स्थित दाहाल कृषि फर्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको हो ।
यसअघि सुन्दरहरैंचा र उर्लाबारी एक/एक तथा कटहरीका दुई वटा फर्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको थियो । यस्तै झापामा पनि बर्डफ्लु संक्रमण पुष्टि भइसकेको छ । केहिदिनको अन्तरालमै मोरङका पाँच स्थानमा बर्डफ्लु संक्रमण भएको हो ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख अजयकुमार साहले सुन्दरहरैँचा नगरपालिका-४ को हलेसी महादेव कृषि फार्म र उर्लाबारी नगरपालिका-८ को अँठियाबारी कृषि फार्ममा बर्डफ्लु पुष्टि भएको जानकारी दिए ।
यस्तै कटहरी गाउँपालिका-२ को ई टु जेड पोल्ट्री फार्म र कटहरी-६ को कामख्या पोल्ट्री फार्ममा संक्रमण देखिएको उनको भनाइ छ । ‘यी स्थानका कुखुराहरू नष्ट गर्ने काम भएको छ’, उनले संगालोखबरसँग भने, ‘अब खोरहरू सफा गरेर शील गर्ने काम बाँकी छ । त्यसको तयारी भइरहेको छ ।’
उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी लेयर्स कुखुरामा यसको संक्रमण बढी देखिएको छ । संक्रमण व्यापक फैलन थालेपछी अन्य स्थानका फर्महरूबाट पनि कुखुराको नमूना संकलन भइरहेको साहले जानकारी दिए ।
‘बर्डफ्लु संक्रमण बढ्न थालेसँगै उच्च सतर्कता अपनाइएको छ’, उनले थपे, ‘अन्य फर्महरूबाट पनि कुखुराको नमूना संकलनको काम भइरहेको छ ।
थप संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रका कुखुरा, अण्डा, दाना लगायतका सामग्री नष्ट गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए । विराटनगरस्थित दाहाल कृषि फर्मको विस्तृत प्राविधिक प्रतिवेदन तयार गर्ने काम भइरहेको र आवश्यक प्रक्रिया पूरा गरेर कुखुरा नष्ट गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
उनका अनुसार बर्डफ्लु संक्रमण भएर शील गरिएको खोरमा नियमावली अनुसार ४५ दिनपछि मात्रै पुनः कुखुरा हाल्न सकिन्छ । तर जोखिम कायमै रहेको खण्डमा समय लम्बिन सक्ने उनले बताए । बर्डफ्लु संक्रमण फैलन थालेसँगै कुखुरा पालक कृषकहरूमा त्रास बढेको छ ।

संगालोखबर 

















