
नेपालको शैक्षिक इतिहासमा बालबालिकाको शिक्षालाई आधारभूत अधिकारका रूपमा स्थापित गर्ने प्रक्रिया लामो र चुनौतीपूर्ण रहेको छ । वि.सं. २००७ सालको राजनीतिक परिवर्तनअघि शिक्षा केवल शासक वर्ग र केही सीमित समूहको पहुँचमा मात्र थियो । तर, त्यसयताका सात दशकमा नेपालले शिक्षामा पहुँच विस्तारको सन्दर्भमा विश्वमै उदाहरणीय फड्को मारेको छ ।
वि.स. २०७२ मा जारी भएको नेपालको संविधानले शिक्षालाई पहिलोपटक मौलिक हकका रूपमा ग्यारेन्टी गर्दै राज्यलाई शिक्षाको मुख्य संरक्षक र प्रदायकका रूपमा उभ्याएको छ । यस संवैधानिक मर्मलाई कार्यान्वयन गर्न बनेका ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ र विद्यालय शिक्षा क्षेत्र योजना २०२२/२०३२’ जस्ता दस्तावेजहरूले नेपालको शिक्षा प्रणालीलाई नयाँ दिशा दिने प्रयास गरेका छन् ।
यद्यपि, उच्च भर्ना दरका बाबजुद कमजोर सिकाइ उपलब्धि, निजी र सार्वजनिक विद्यालयबीचको गहिरो विभाजन र शिक्षा तथा श्रम बजारबीचको सम्बन्ध विच्छेदले नेपालको शैक्षिक प्रणालीमा गम्भीर प्रश्नहरू उब्जाएका छन् । यस लेखमा नेपालको शिक्षा क्षेत्रका विद्यमान व्यवस्था, तथ्याङ्कीय यथार्थ, प्रदेशगत अवस्था र कमजोरीहरूको मिहिन समीक्षा गर्दै वैश्विक उदाहरणहरूका आधारमा सुधारका नवीन सुझावहरू प्रस्तुत गरिएको छ ।
नेपालमा बालबालिकाको शिक्षाका लागि व्यवस्था गरिएका विद्यमान संवैधानिक र कानूनी व्यवस्था नियाल्दा
नेपालको वर्तमान शिक्षा प्रणालीको जग वि.सं. २०७२ को संविधान र त्यसपछिका कानूनी प्रावधानहरूमा आधारित छ । यी व्यवस्थाहरूले शिक्षालाई केवल सेवाका रूपमा मात्र नभई नागरिकको प्रतिष्ठा र सशक्तिकरणको औजारका रूपमा स्वीकार गरेका छन् ।
१. संवैधानिक प्रत्याभूति र ऐतिहासिक पृष्ठभूमि
नेपालमा शिक्षाको अधिकारको यात्रा वि.सं. २००४ सालको ‘वैधानिक कानून’ देखि सुरु भएको मानिन्छ । जसमा प्राथमिक शिक्षालाई अनिवार्य बनाउने सोच राखिएको थियो । तर, आधुनिक नेपालको शैक्षिक विकासको मुख्य आधार २०७२ को संविधानको धारा ३१ हो ।
यस धाराले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक, राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक सुनिश्चित गरेको छ ।
यसबाहेक अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानून बमोजिम निःशुल्क उच्च शिक्षाको अधिकार प्रदान गरिएको छ । साथै संविधानले बहुभाषिक समाजलाई सम्बोधन गर्दै प्रत्येक समुदायलाई आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि शैक्षिक संस्था सञ्चालन गर्ने हक समेत प्रदान गरेको छ ।
यो व्यवस्थाले नेपालको जातीय र भाषिक विविधतालाई शिक्षा प्रणालीमा एकीकृत गर्ने लक्ष्य राखेको छ । यद्यपि यसको कार्यान्वयन पक्ष अझै पनि चुनौतीपूर्ण रहेको देखिन्छ ।
२. अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५
संविधानको भावनालाई व्यवहारमा उतार्न तर्जुमा गरिएको यो ऐन नेपालको शैक्षिक इतिहासकै सबैभन्दा क्रान्तिकारी कानूनी दस्तावेज हो । यस ऐनले राज्य, अभिभावक र विद्यालयको जिम्मेवारीलाई स्पष्ट रूपमा किटान गरेको छ ।
| क्षेत्र | प्रमुख कानूनी व्यवस्था |
| उमेर समूह | ४ वर्ष पूरा भई १३ वर्ष नपुगेका बालबालिकाका लागि आधारभूत शिक्षा अनिवार्य। |
| राज्यको दायित्व | आधारभूत तहसम्म निःशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने। |
| अभिभावकको कर्तव्य | आफ्ना बालबालिकालाई नियमित रूपमा विद्यालय पठाउनु अभिभावकको कर्तव्य हुने। |
| दण्डात्मक व्यवस्था | २०८५ सालसम्म आधारभूत शिक्षा पूरा नगर्ने व्यक्ति कुनै पनि सरकारी वा संगठित संस्थाको पदका लागि अयोग्य हुने। |
| मातृभाषा शिक्षा | प्रारम्भिक बाल विकास र आधारभूत तहमा मातृभाषामा शिक्षा दिने व्यवस्था। |
यस ऐनको दफा १९ मा रहेको ‘अयोग्यता’ सम्बन्धी प्रावधानले सामाजिक दबाब सिर्जना गरी साक्षरता र आधारभूत शिक्षाको पहुँचलाई १०० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । यद्यपि यो प्रावधान कार्यान्वयन गर्दा गरिबी र भौगोलिक विकटताका कारण शिक्षा पाउन नसकेकाहरूलाई अझ बढी अन्याय हुन सक्ने जोखिम पनि औँल्याइएको छ ।
३. विद्यालय शिक्षा क्षेत्र योजना (२०२२/२०३२)
नेपाल सरकारले दिगो विकास लक्ष्य–४ प्राप्त गर्न १० वर्षे ‘विद्यालय शिक्षा क्षेत्र योजना’ कार्यान्वयनमा ल्याएको छ । यस योजनाले विशेष गरी चारवटा मुख्य उद्देश्यहरूमा केन्द्रित रहेको छ : समतामूलक पहुँच, गुणस्तर र सान्दर्भिकता, सुशासन र व्यवस्थापन र प्रणालीको उत्थानशीलता ।
यस योजनाले वार्षिक रूपमा ८० लाख भन्दा बढी विद्यार्थी र ३ लाख भन्दा बढी शिक्षकहरूलाई समेट्ने लक्ष्य राखेको छ । यो योजना संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा कार्यान्वयन भइरहेको छ । जसलाई विश्व बैंक, एसियाली विकास बैंक र अन्य विकास साझेदारहरूले आर्थिक र प्राविधिक सहयोग पनि गरिरहेका छन् ।
अब लागौं, नेपालको शैक्षिक अवस्थाको वर्तमान तथ्याङ्कीय विश्लेषणतर्फ
नेपालले पहुँचको क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि गुणस्तर र टिकाउ दरका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको तथ्याङ्कले देखाउँछ ।
१. भर्ना दर र लैङ्गिक समानता
पछिल्लो २० वर्षमा नेपालमा प्राथमिक विद्यालय भर्ना दरमा चमत्कारिक सुधार आएको छ । सन् २०२४ को तथ्याङ्क अनुसार प्राथमिक तहमा खुद भर्ना दर ९७ प्रतिशत पुगेको छ ।
| सूचक | २०८१ सम्मको अबस्था |
| आधारभूत तह (१-८) खुद भर्ना दर | ९५.११% |
| माध्यमिक तह (९-१२) खुद भर्ना दर | ५४.०% |
| लैङ्गिक समानता सूचकांक (आधारभूत तह) | ०.९९ |
| लैङ्गिक समानता सूचकांक (माध्यमिक तह) | १.०१ |
| १५-२४ वर्ष उमेर समूहको साक्षरता दर | ७८% |
तथ्याङ्कले देखाए अनुसार नेपालले भर्ना दरमा लिङ्गका आधारमा हुने विभेदलाई लगभग अन्त्य गरेको छ । यद्यपि, उच्च तहमा पुग्दा भर्ना दर उल्लेख्य रूपमा घट्नुले विद्यालय छाड्ने दर अझै पनि ठूलो समस्या रहेको संकेत गर्छ ।
२. विद्यालय बाहिर रहेका बालबालिका र ‘ड्रपआउट’ को समस्या
सबै संवैधानिक व्यवस्थाका बाबजुद नेपालमा अझै पनि ५ देखि १२ वर्ष उमेर समूहका करिब ७ लाख ७० हजार बालबालिका विद्यालय बाहिर रहेका छन् । विशेषगरी कर्णाली र लुम्बिनी प्रदेशका विकट क्षेत्रहरूमा बालबालिकालाई विद्यालय ल्याउनु ठूलो चुनौती छ ।
ड्रपआउटको मुख्य कारणहरूमा गरिबी, सामाजिक बहिष्कार, अपाङ्गता, बालश्रम र भौगोलिक विकटता रहेका छन् । १८ देखि २४ वर्ष उमेर समूहका ६४ प्रतिशत पुरुष र ६९ प्रतिशत महिलाले माध्यमिक शिक्षा पूरा नगरेको पाइएको छ । जुन मानव पुँजी विकासका लागि गम्भीर चुनौती हो । घरायसी कामको जिम्मेवारी र सानै उमेरमा हुने विवाहले पनि माध्यमिक तहमा विद्यार्थी टिकाउन समस्या सिर्जना गरेको छ ।
३. सिकाइ उपलब्धिको संकट
भर्ना दर बढे पनि बालबालिकाले विद्यालयमा के सिकिरहेका छन् भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण हो । सन् २०२४ को युनिसेफको प्रतिवेदन अनुसार नेपालमा सिकाइ उपलब्धि स्थिर छ ।
-कक्षा ५ का ४० प्रतिशत भन्दा कम विद्यार्थीले मात्र आफ्नो तह अनुसारको न्यूनतम दक्षता हासिल गरेका छन् ।
-कक्षा ३, ५ र ८ का केवल आधा विद्यार्थीले मात्र नेपाली र गणितमा शैक्षिक उपलब्धि मापदण्ड पूरा गरेका छन् ।
-धनी परिवारका ६५ प्रतिशत बालबालिका विकासात्मक रूपमा सही मार्गमा रहँदा गरिब परिवारका केवल १२ प्रतिशत मात्र सो अवस्थामा छन्, जसले वर्गीय असमानताको डरलाग्दो चित्र प्रस्तुत गर्दछ ।
यी तथ्याङ्कहरूले के पुष्टि गर्छन् भने नेपालको शिक्षा प्रणाली ‘पहुँच केन्द्रित’ बाट अब ‘गुणस्तर र नतिजा केन्द्रित’ हुन आवश्यक छ ।
अब लागौं, प्रादेशिक र स्थानीय अनुभव एवं कोशी प्रदेश र मोरङ जिल्लाको अध्ययनतर्फ
संघीयताको कार्यान्वयनसँगै शिक्षाको जिम्मेवारी स्थानीय तहमा पुगेपछि केही जिल्ला र शहरहरूले उदाहरणीय काम गरेका छन् । कोशी प्रदेशको विराटनगर र इटहरी क्षेत्र यसको मुख्य उदाहरण हो ।
१. विराटनगर र मोरङको शैक्षिक रूपान्तरण
विराटनगर महानगरपालिका र आसपासका क्षेत्रहरू पछिल्लो समयमा नेपालको शैक्षिक हबका रूपमा विकसित भइरहेका छन् । विगतमा उच्च शिक्षाका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता रहेपनि अहिले विराटनगरमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा उपलब्ध हुन थालेको छ ।
विराटनगर महानगरपालिकामा १७६ विद्यालयहरू सञ्चालनमा छन्, जसमध्ये २९ संस्थागत (निजी) विद्यालयहरूले कक्षा ११ र १२ सञ्चालन गरिरहेका छन् । यहाँका केही सामुदायिक विद्यालयहरू– जस्तै : पोखरिया माध्यमिक विद्यालय र सुकुना माध्यमिक विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्दै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।
| विद्यालयको नाम | प्रमुख उपलब्धि/विशेषता |
| पोखरिया मा.वि., विराटनगर | ५०० भन्दा बढी नयाँ विद्यार्थी निजी विद्यालय छाडेर भर्ना हुन आएका । प्रविधिको उच्च प्रयोग। |
| सुकुना मा.वि., मोरङ | ५,००० भन्दा बढी विद्यार्थी भएको कोशी प्रदेशकै ठूलो विद्यालय। अटो-स्क्यानर हाजिरी र स्मार्ट क्लास। |
| अरनिको कलेज, विराटनगर | बोर्ड टपर उत्पादन गर्न सफल र प्रविधिमैत्री शिक्षण पद्धति। |
| सजिललाल मा.वि., मोरङ | व्यावहारिक शिक्षालाई जीविकोपार्जनसँग जोडेको। |
२. कोशी प्रदेशका चुनौतीहरू
यद्यपि, सहरी क्षेत्रमा प्रगति भए पनि कोशी प्रदेशकै पहाडी जिल्लाहरू (इलाम, ताप्लेजुङ, ओखलढुङ्गा) मा भने यातायात, प्रविधि र दक्ष शिक्षकको अभाव अझै पनि खड्किएको छ । पहाडी क्षेत्रका विद्यालयहरूमा इन्टरनेट र प्रविधिको पहुँच न्यून हुनुले ‘डिजिटल डिभाइड’ सिर्जना गरेको छ । साथै, दक्ष युवाहरू विदेश जाने क्रम नरोकिँदा स्थानीय स्तरमा रोजगारी र शिक्षाको सान्दर्भिकतामा प्रश्न उठिरहेको छ ।
नेपालको शिक्षा प्रणालीका मुख्य कमजोरी र चुनौतीहरू
नेपालको शैक्षिक व्यवस्थाको गहिरो समीक्षा गर्दा केही संरचनात्मक र कार्यान्वयन तहका कमजोरीहरू स्पष्ट देखिन्छन् ।
१. सार्वजनिक र निजी विद्यालयबीचको वर्गीय खाडल
नेपालको शिक्षा प्रणाली दुई धारमा विभाजित छ । निजी विद्यालयहरू केवल धनी र पहुँचवालाका लागि मात्र पहुँचयोग्य छन्, जबकि सामुदायिक विद्यालयहरू विपन्न वर्गको मात्र आश्रयस्थल बनेका छन् ।
यसले समाजमा गहिरो वर्ग विभाजन सिर्जना गरेको छ । रोजगारदाताहरूले पनि निजी विद्यालयबाट आएका विद्यार्थीलाई बढी दक्ष ठान्ने प्रवृत्तिले सामुदायिक विद्यालयका विद्यार्थीहरूमा हिनताबोध पैदा गरेको छ । शिक्षाले असमानता घटाउनु पर्नेमा नेपालको निजी शिक्षा प्रणालीले यसलाई झन् संस्थागत गरिरहेको छ ।
२. शिक्षा र श्रम बजारबीचको सम्बन्ध विच्छेद
नेपालको वर्तमान शिक्षा प्रणालीले सैद्धान्तिक ज्ञानमा जोड दिए पनि बजारले खोज्ने सीप प्रदान गर्न सकेको छैन । माध्यमिक शिक्षा पूरा गरेका युवाहरूमा कुनै खास सीप नहुँदा उनीहरू कि त बेरोजगार बस्छन् कि त अदक्ष कामदारका रूपमा खाडी मुलुक जान बाध्य छन् । प्राविधिक र व्यावसायिक शिक्षाको विस्तार भए पनि यसको गुणस्तर र सान्दर्भिकतामा अझै समस्या छ । पाठ्यक्रमहरू उद्योगको मागसँग मेल खाँदैनन्, जसका कारण ‘दक्ष जनशक्ति’ को अभाव र ‘बेरोजगार शिक्षित’ को भीड एकैसाथ देख्न सकिन्छ ।
३. संघीयता र व्यवस्थापकीय अस्पष्टता
संविधानले विद्यालय शिक्षाको अधिकार स्थानीय तहलाई दिए पनि संघीय, प्रदेश र स्थानीय सरकारबीचको शक्ति बाँडफाँडमा अझै पनि अन्योल छ ।
-स्थानीय तहहरूमा शिक्षा सम्बन्धी योजना बनाउने र कार्यान्वयन गर्ने प्राविधिक क्षमताको अभाव छ ।
-शिक्षक व्यवस्थापन र सरुवा सम्बन्धी विवादले गर्दा धेरै स्थानीय तहहरूले प्रभावकारी रूपमा काम गर्न सकेका छैनन् ।
-धेरै ठाउँमा स्थानीय सरकारहरू केवल ‘सिफारिस गर्ने’ निकायका रूपमा मात्र सीमित भएका छन्, जबकि उनीहरूलाई पूर्ण अधिकार दिइएको छ ।
४. बजेट र लगानीको अपर्याप्तता
नेपाल सरकारले शिक्षामा लगानी बढाउने प्रतिबद्धता गरे पनि वास्तविक विनियोजन र खर्च सन्तोषजनक छैन । धेरै सामुदायिक विद्यालयहरूले विद्युत, पानी, र निजी स्रोतका शिक्षकहरूको तलब व्यवस्थापन गर्न अभिभावकबाट चन्दा वा शुल्क उठाउन बाध्य हुनुले ‘निःशुल्क शिक्षा’ को नारालाई व्यङ्ग्य गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा शिक्षाको बजेट केवल २.५ प्रतिशतले मात्र बढेको छ, जुन मुद्रास्फीति र आवश्यकताको तुलनामा अत्यन्तै न्यून देखिन्छ ।
५. अपाङ्गता भएका बालबालिकाको उपेक्षा
नेपालको कानूनले अपाङ्गता भएका बालबालिकाका लागि निःशुल्क र समावेशी शिक्षाको कुरा गरेतापनि व्यवहारमा उनीहरूको पहुँच अत्यन्तै कमजोर छ । धेरै विद्यालयहरूमा अपाङ्गतामैत्री भौतिक संरचना छैनन् र शिक्षकहरूलाई विशेष आवश्यकता भएका बालबालिका सिकाउने तालिमको अभाव छ ।
अब, सुधारका नवीन सुझाव र उपायहरू के के हुन सक्लान् ?
नेपालको शिक्षा प्रणालीलाई रूपान्तरण गर्न परम्परागत शैलीबाट माथि उठेर केही नवीन र साहसिक कदमहरू चाल्नु आवश्यक छ ।
पहिलो– ‘टिचिङ एट द राइट लेभल’ पद्धतिको कार्यान्वयन
नेपालमा विद्यार्थीहरू कक्षामा त हुन्छन्, तर उनीहरूले आफ्नो तह अनुसारको कुरा बुझिरहेका हुँदैनन् । यसका लागि ‘टिचिङ एट द राइट लेभल’ पद्धति सबैभन्दा प्रभावकारी सावित हुन सक्छ । विश्व बैंक र नेपाल सरकारले धादिङ, धनुषा र सल्यानमा गरेको पाइलट प्रोजेक्टले असाधारण नतिजा देखाएको छ ।
| सूचक | हस्तक्षेप अघि (Baseline) | हस्तक्षेप पछि (Endline) | सुधार |
| नेपाली पढाइ | ५२% ले आधारभूत अनुच्छेद पढ्न नसक्ने | ८०.६१% ले अनुच्छेद पढ्न सक्ने | २८.६१% सुधार |
| गणित (घटाउ) | ६६.२६% ले घटाउ गर्न नसक्ने | ७९.८% ले घटाउ गर्न सक्ने | ४६.०६% सुधार |
यो पद्धतिले विद्यार्थीलाई उमेर वा कक्षाको आधारमा भन्दा पनि उनीहरूको वास्तविक ज्ञानको स्तर अनुसार समूह विभाजन गरेर सिकाउँछ । यो मोडेललाई देशभरका प्राथमिक विद्यालयहरूमा विस्तार गर्दा सिकाइको आधारभूत जग बलियो हुने देखिन्छ ।
दोश्रो– डिजिटल रूपान्तरण र सूचना प्रविधिको प्रयोग
नेपाल सरकारले २०८१/२०९१ लाई ‘सूचना प्रविधि दशक’ घोषणा गरेको सन्दर्भमा शिक्षालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउनुपर्छ ।
-MOOC र अनलाइन प्ल्याटफर्म : फिनल्याण्डको सहयोगमा सञ्चालित परियोजनाले नेपालमा अनलाइन कोर्षहरू र डिजिटल शिक्षण सामग्रीको विकास गरेको छ । यसलाई देशभरका विद्यालयहरूमा पुर्याएर दुर्गमका विद्यार्थीलाई पनि उत्कृष्ट शिक्षकको पहुँचमा ल्याउन सकिन्छ ।
-डिजिटल साक्षरता : शिक्षकहरूलाई केवल कम्प्युटर चलाउन मात्र होइन, प्रविधिलाई शिक्षण विधिको अङ्ग बनाउन तालिम दिनुपर्छ ।
-स्मार्ट क्लासरुम : प्रत्येक सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट र स्मार्ट बोर्डको व्यवस्था हुनुपर्छ ।
३. व्यावसायिक शिक्षाको ड्युअल मोडेल
प्राविधिक शिक्षालाई बजारको मागसँग जोड्न ‘ड्युअल मोडेल’ अपनाउनु पर्छ, जहाँ विद्यार्थीले केही समय विद्यालयमा पढ्छन् र केही समय उद्योगमा काम (Internship/Apprenticeship) गर्छन् ।
-उद्योगी र रोजगारदाताहरूलाई पाठ्यक्रम निर्माणमा सहभागी गराउनुपर्छ ।
-‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई कोशी प्रदेश जस्तै अन्य प्रदेशहरूमा पनि प्रभावकारी रूपमा विस्तार गर्नुपर्छ ।
-स्थानीय तहहरूले आफ्नो क्षेत्रमा उपलब्ध स्रोत र सम्भावनाका आधारमा (जस्तैः पर्यटन, कृषि, आईटी) सीपमूलक तालिमहरू सञ्चालन गर्नुपर्छ ।
४. शिक्षक मनिटरिङ र निरन्तर सहयोग प्रणाली
शिक्षकहरूलाई केवल एक पटक तालिम दिएर हुँदैन, उनीहरूलाई कक्षाकोठामै पुगेर सहयोग गर्ने मनिटरिङ प्रणाली आवश्यक छ । एसियाली विकास बैंकको सहयोगमा २०० स्थानीय तहमा यस्तो प्रणालीको पाइलटिङ भइरहेको छ, जसलाई स्थायी संरचनाका रूपमा विकास गर्नुपर्छ । शिक्षकहरूको नियुक्ति पूर्ण रूपमा योग्यताका आधारमा हुनुपर्छ र उनीहरूको कार्यसम्पादनलाई विद्यार्थीको सिकाइ उपलब्धिसँग जोड्नुपर्छ ।
५. ‘सामुदायिक विद्यालय पुनरुत्थान’ कार्यक्रम
सामुदायिक विद्यालयको छवि सुधार्न सरकारले ‘मोडेल स्कुल’ को अवधारणालाई अझ सशक्त बनाउनुपर्छ । पोखरिया र सुकुना जस्ता विद्यालयहरूलाई ‘मेन्टर स्कुल’ का रूपमा प्रयोग गरी वरपरका अन्य विद्यालयहरूको गुणस्तर सुधार्न जिम्मेवारी दिन सकिन्छ । निजी विद्यालयहरूले पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नजिकैका सामुदायिक विद्यालयहरूलाई प्राविधिक सहयोग गर्ने व्यवस्था मिलाउनुपर्छ ।
वैश्विक सफल मोडेलहरू हेरौँ, जुन नेपालका लागि पाठ बन्न योग्य छन् !
विश्वका केही देशहरूले शिक्षामा गरेको लगानी र अपनाएको नीति नेपालका लागि मार्गदर्शन हुन सक्छन् ।
१. फिनल्याण्ड : शिक्षकको उच्च योग्यता र स्वायत्तता
फिनल्याण्ड विश्वमै उत्कृष्ट शिक्षा प्रणाली भएको देश मानिन्छ । त्यहाँका मुख्य विशेषताहरू नेपालका लागि सान्दर्भिक छन् ।
-शिक्षकको योग्यता : त्यहाँ प्राथमिक शिक्षक बन्नका लागि पनि स्नातकोत्तर तह (Master’s Degree) अनिवार्य छ । नेपालले पनि २०७६ को शिक्षा नीति मार्फत यो प्रावधान ल्याउन खोजेको छ, जसलाई दृढताका साथ लागू गर्नुपर्छ ।
-विश्वासमा आधारित सुशासन : फिनल्याण्डमा शिक्षकहरूलाई कक्षाकोठामा के र कसरी सिकाउने भन्ने विषयमा पूर्ण स्वायत्तता दिइन्छ । नेपालमा पनि शिक्षकहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरी व्यावसायिक स्वायत्तता दिनु आवश्यक छ ।
-प्रतिस्पर्धा रहित वातावरण : त्यहाँ विद्यालयहरूबीच प्रतिस्पर्धा भन्दा पनि सहकार्यमा जोड दिइन्छ ।
२. एस्टोनिया : डिजिटल क्रान्ति
एस्टोनियाले सन् १९९० को दशकदेखि शिक्षामा गरेको डिजिटल लगानीले आज उसलाई युरोपको उत्कृष्ट शैक्षिक गन्तव्य बनाएको छ ।
-ई-स्कुल प्रणाली : एस्टोनियाका सबै शैक्षिक गतिविधिहरू डिजिटल प्ल्याटफर्ममा जोडिएका छन्, जसले पारदर्शिता र प्रभावकारिता बढाएको छ ।
-प्रविधि र शिक्षाको फ्युजन : त्यहाँ साना बालबालिकालाई पनि कोडिङ र डिजिटल सीपहरू सिकाइन्छ । नेपालले ‘डिजिटल नेपाल फ्रेमवर्क’ मार्फत एस्टोनियाको यो मोडेललाई पछ्याउन सक्छ ।
३. सिंगापुर : मेरिटोक्रेसी र शिक्षक विकास
सिंगापुरको सफलताको रहस्य ‘शिक्षक’ मा गरिएको लगानी हो ।
-निरन्तर विकास : त्यहाँ प्रत्येक शिक्षकलाई वर्षमा १०० घण्टाको व्यावसायिक तालिम अनिवार्य गरिएको छ ।
-आर्थिक आकर्षण : शिक्षण पेशालाई डाक्टर वा इन्जिनियर जस्तै उच्च तलब र सम्मान दिइन्छ, जसले गर्दा सबैभन्दा उत्कृष्ट विद्यार्थीहरू शिक्षणमा आकर्षित हुन्छन् । नेपालले पनि शिक्षण पेसालाई सेवा मात्र नभई एक आकर्षक करियरका रूपमा विकास गर्नुपर्छ ।
४. जापान : अनुशासन र सामूहिक सिकाई
जापानले ‘लेसन स्टडी’ मार्फत शिक्षकहरूबीच सामूहिक रूपमा समस्या समाधान गर्ने र सिकाउने संस्कृति विकास गरेको छ।नेपालका शिक्षकहरूले पनि एक-अर्काको कक्षा अवलोकन गर्ने र रचनात्मक पृष्ठपोषण दिने परिपाटी बसाल्नुपर्छ ।
अत्यमा थोरै, दिगो विकास लक्ष्य (SDG 4) र नेपालको भविष्यको चित्रण
नेपालले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य-४ (गुणस्तरीय शिक्षा) प्राप्त गर्ने प्रतिबद्धता जनाएको छ । यसका लागि आगामी केही वर्षहरू नेपालका लागि अत्यन्तै महत्त्वपूर्ण छन् ।
| SDG 4 का लक्ष्यहरू | नेपालको वर्तमान रणनीति | आवश्यक सुधार |
| निःशुल्क र गुणस्तरीय शिक्षा | अनिवार्य शिक्षा ऐन र SESP २०२२-२०३२। | बजेट उपयोगमा दक्षता र गुणस्तर अनुगमन। |
| प्राविधिक सीप विकास | TVET विस्तार र ‘पढ्दै कमाउँदै‘। | उद्योग र शिक्षाको वास्तविक सहकार्य। |
| समावेशिता | छात्रवृत्ति र मातृभाषा शिक्षा। | अपाङ्गता मैत्री पूर्वाधार र विभेद अन्त्य। |
| शिक्षक गुणस्तर | राष्ट्रिय शिक्षा नीति २०७६। | शिक्षक नियुक्तिमा पूर्ण योग्यता र राजनीतिक तटस्थता। |
नेपाल सरकारले हालैका वर्षहरूमा सामाजिक सुरक्षा र वृद्धभत्तामा बजेट बढाए पनि शिक्षामा भएको न्यून वृद्धि (२.५५) ले भविष्यको पुँजी निर्माणमा बाधा पुर्याउन सक्छ । सामाजिक न्यायका लागि शिक्षामा लगानी बढाउनुको विकल्प छैन ।
निष्कर्ष र आगामी कार्यदिशा
नेपालमा बालबालिकाको शिक्षाका लागि भएका संवैधानिक र कानूनी व्यवस्थाहरू निकै प्रगतिशील छन् । ९७ प्रतिशत भर्ना दर हासिल हुनु र लैङ्गिक समानता कायम हुनु नेपालका लागि ठूलो उपलब्धि हो । तर, यी उपलब्धिहरूलाई सिकाइ उपलब्धिसँग जोड्न नसक्नु र शिक्षाले वर्ग विभाजन सिर्जना गर्नु हाम्रा मुख्य कमजोरी हुन्।नेपालको शैक्षिक रूपान्तरणका लागि अबको बाटो ‘पहुँचुबाट गुणस्तर’ र ‘प्रविधि’ तर्फ मोडिनुपर्छ ।
TaRL जस्ता सफल सिकाइ पद्धतिलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने, फिनल्याण्ड र एस्टोनिया जस्ता देशहरूबाट सिकेर शिक्षकको योग्यता र डिजिटल पूर्वाधारमा लगानी गर्ने र संघीयताको मर्म अनुसार स्थानीय सरकारहरूलाई सशक्त बनाउने कार्यलाई प्राथमिकता दिनुपर्छ । शिक्षा केवल रोजगारी पाउने माध्यम मात्र होइन, यो एक चेतनशील नागरिक तयार पार्ने र समृद्ध नेपाल निर्माण गर्ने आधार पनि हो ।
यदि हामीले सामुदायिक विद्यालयको गुणस्तर सुधारेर निजीसँगको वर्गीय खाडल पुर्न सक्यौँ भने मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा सार्थक हुनेछ । राज्यले शिक्षालाई ‘खर्च’ का रूपमा नभई ‘उत्पादनशील लगानी’ का रूपमा स्वीकार गरी कुल बजेटको कम्तीमा २० प्रतिशत हिस्सा यस क्षेत्रमा विनियोजन गर्न अब ढिला गर्नु हुँदैन ।
(लेखक लक्ष्मी माध्यमिक विद्यालय केराबारी मोरङमा कार्यरत छिन् ।)



















