
धनकुटा । धनकुटामा गत सोमबार राति आएको हावाहुरीका कारण अवरुद्ध भएको विद्युत आपूर्ति सबै स्थानमा सुचारु गर्न अझै केहिदिन लाग्ने भएको छ ।
धनकुटा बजार क्षेत्र र अन्य केही पालिकाका मुख्य बजार क्षेत्रमा विद्युत सुचारु भएपनि अन्य स्थानमा अझै केहिदिन पछिमात्रै विद्युत सुचारु हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख बिजुलीप्रसाद यादवका अनुसार धनकुटा बजार, भेडेटार, हिले, पाख्रीबास र महालक्ष्मी नगरपालिकाको तल्लो भेग, मूलघाटलगायतका क्षेत्रमा विद्युत सेवा सञ्चालनमा आइसकेको छ ।
अन्य क्षेत्रमा विद्युत संचालमा ल्याउन अझै केहीदिन लाग्नसक्ने उनको भनाइ छ । हावाहुरीका कारण छथर जोरपाटी क्षेत्रमा ३३ केभी प्रसारण लाइनको पोल ढलेको थियो । यस्तै धनकुटा नगरपालिकाको निगाले क्षेत्रमा एकै स्थानमा ७ वटा पोल भाँचिनुका साथै ट्रान्सफर्मरमा समेत क्षति पुगेको उनले बताए ।
‘म स्वयं फिल्डमा खटिएको छु । क्षतिग्रस्त संरचना पुनःस्थापना गर्ने काम तीव्र गतिमा भइरहेको छ’, उनले भने, ‘धेरै स्थानमा आज विद्युत संचालमा आउने सम्भावना छ । बिहान देखी राति अबेरसम्म पनि मर्मत कार्यमा लागि परेका छौँ ।’
हावाहुरीका कारण कति क्षति पुगेको छ भन्ने यकिन विवरण आउन बाँकी रहेको उनको भनाइ छ । क्षतिको अवस्था मूल्यांकन गर्न ७ देखि ८ वटा प्राविधिक टोली परिचालन गरिएको र विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 

















