
विराटनगर । इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विभागीय मूल्यमान्यता, आदेशनिर्देशको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदिय कर्तव्य निर्वाह गरेको भन्दै लम्साललाई सर्वोत्कृष्ट घोषित गरेको हो ।
लम्सालले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा-५ जस्तो अतिसंवेदनशील निर्वाचन क्षेत्रमा शान्ति सुरक्षा तथा अमनचयन कायम गरी कुनै पनि घटना घट्न नदिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको. छ ।
यस्तै जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियारहरू र हिरासतबाट भागेर फरार भएका प्रतिवादीहरू खोजतलासमा उनले सफलता हात पारेको उल्लेख छ ।
उनले इलाका प्रहरी कार्यालय दमकको छेउमा रहेको खाली जग्गाको झाडीबाट वाई १३४८७ नम्बरको मार्का-४ राइफल १ थान फेला पार्नका साथै विभिन्न स्थानहरूबाट १९ जना प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएका थिए ।
साथै फागुन महिनामा जम्मा ३५ वटा मुद्दा दर्ता भएकोमा जेनजी आन्दोलनसँग सम्बन्धित १० वटा मुद्दा दर्ता भई १० वटा नै फछर्यौट गरेको तथा जेनजी आन्दोलनमा क्षति पुगेको प्रहरी कार्यालयलाई पुरानै लयमा फर्काउन उनले नेतृत्वदायी भूमिका खेलेको उल्लेख छ ।
यसैगरी ध्वनि प्रदुषण गर्ने २१७ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही गरेको लगायतका कार्यहरूको उच्च मूल्याङ्कन गर्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

संगालोखबर 















