
धनकुटा । धनकुटामा वर्षासँगै आएको हावाहुरीका कारण ठूलो क्षति भएको छ । सोमबार राती करिब ८ बजेदेखि आएको हावाहुरीका कारण केही निजी घर तथा सरकारी भवनमा क्षति पुगेको हो ।
धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानकुमार महतोका अनुसार विभिन्न स्थानमा रूख ढलेका छन् भने सरकारी तथा निजी घरमा पनि क्षति पुगको छ ।

केही स्थानमा हावाहुरीले घरको छानो उडाएको छ भने बिजुलीका पोल र ट्रान्सफर्मर पनि लडाएको छ । हावाहुरीका कारण कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ । क्षतिको विवरण सङ्कलन भइरहेको डीएसपी महतोले जानकारी दिए ।
विद्युत प्रधिकरणका अनुसार विद्युतका पोलहरू र ट्रान्सफर्मर ढलेका कारण आज दिउँसो २ बजेसम्ममा अवरुद्ध भएका स्थान पत्ता लाग्नेछन् । आज साँझ मात्रै विद्युत संचालनमा आउन सक्ने नेपाल विद्युत प्रधिकरण धनकुटाका प्रमुख विजुलीप्रसाद यादवले जानकारी दिए ।

कोशी राजमार्ग स्थित धनकुटा-हिले सडक खण्डमा ढलेका सल्लाका रूख नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले हटाएपछि यातायात सुचारु भएका छन् ।

सन्तोष सुवेदी/संगालोखबर 















