
धनकुटा । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा रहेका धनकुटाको चौबिसे गाउँपालिका-६ राजारानीका ३६ वर्षीय गौरव लिम्बुलाई पालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।
पालिकाले आगामी नीति तथा कार्यक्रमबाट बजेट ब्यवस्था गरी सगरमाथा आरोहणको तयारीमा रहेका लिम्बूलाई सहयोग गर्ने जनाएको हो । करिब २ वर्षको शिखर आरोहण तालिम पछि लिम्बु यही चैत्र १२ गते पहिलो पटक सोलुखुम्बुको आईलेन पिक आरोहणको अन्तिम तयारीमा छन् ।
आगामी नीति तथा कार्यक्रमबाट बजेट व्यवस्थापन गरी सगरमाथा आरोहणको तयारीमा रहेका लिम्बुलाई सहयोग गर्ने गाउँपालिका अध्यक्ष राजकुमार लिम्बूले प्रतिवद्धता व्यक्त गरेका छन् ।
चौबिसेको पर्यटन, प्रचार र प्रबर्द्धन गर्न आईलेनको चुचुरोमा पुगेर चौबिसे गाउँपालिकाको ब्यानर फहराउने लिम्बुले बताए । त्यो आईलेन पिक चढेपछि सगरमाथा चढ्ने बाटो खुल्ने उनको भनाइ छ ।
करिब ५ लाखको लागतमा आईलेन पिक चढ्न लागेका लिम्बुले सगरमाथा चढ्न १५ देखि १८ लाख लाग्ने बताए । धेरै पैसा लाग्ने हुँदा सबैको साथ सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
चौबिसेको पहिलो आरोही बन्ने अभिलाषा बोकेको बताउँदै उनले सगरमाथामा धनकुटाको नाम राख्ने बताए ।

सन्तोष सुवेदी/संगालोखबर 















