सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । वन डढेलो रोकथाम, नियन्त्रण तथा प्रज्वलनशील पदार्थ व्यवस्थापनका लागि धनकुटामा सरोकारवालाहरूबीच छलफल भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला शाखा धनकुटाको सहयोग तथा जिल्ला डिभिजन वन कार्यालय धनकुटाको आयोजना कार्यक्रम भएको हो ।

कोशी प्रदेश सांसद निरन राईले वन डढेलोका कारण वर्षेनी विभिन्न प्राकृतिक घटना भोग्दै आउनुपरेको उल्लेख गरे । उनले आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकाय र डिभिजन वन कार्यालयले मात्रै नसक्ने बताउँदै सबैले आफ्नो ठाउँबाट लाग्नु पर्ने धारणा राखे ।

जिल्ला समन्वय समिति प्रमुख निरन तामाङले वन डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सरोकारवालाहरूसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए । डढेलो नियन्त्रण गर्न सबैले सहयोग गर्नुपर्ने बताउँदै उनले जंगलमा आगो लाउनेलाई खोजी गरी आवश्यक करवाही गर्नुपर्ने उल्लेख गरे ।

प्रज्वलनशील पदार्थले अझ बढी डढेलो लाग्ने र बढ्ने हुदाँ थप समस्या हुने जिल्ला डिभिजन वन कार्यालय धनकुटाका प्रमुख सञ्जीवराज ढकालले बताए । पहाडी जिल्लामा पर्ने तमोर अरुणको तल्लो भू-भागमा सल्लाको वन भएकाले डढेलोको जोखिम रहेको उनको भनाइ छ ।

सामुदायिक वन उपभोक्ता महासंघ धनकुटा अध्यक्ष निलबहादुर थापाले आगजनी मानवबाटै हुने हुँदा आफैँ सजग हुनुपर्ने बताए । वन ऐन कानुनका कारण ढलेका रूख बेचविखन गर्न समस्या भएको हुँदा जंगलमै खेर गइरहेको उनको भनाइ छ ।

जसकारण डढेलो लाग्दा ठूलो क्षति बेहोर्नुपर्ने अवस्था रहेको उनले बताए । उनले कानून संशोधनतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए । वन डढेलो नियन्त्रणका लागि उनले सुरक्षा निकाय, प्रशासन, सामुदायिक बनका पदाधिकारीहरू, सरोकारवालाहरू र स्थानीय सबैलाई आ–आफ्नो ठाउँबाट लाग्न आग्रह गरे ।

डिभिजन वन कार्यालय धनकुटाले जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, सात वटै पालिकाका सामुदायिक वन उपभोक्ता पदाधिकारी लगायत सरोकारवालाहरूलाई कार्यक्रममा बोलाएको थियो ।

‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता, तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने मूल नाराका साथ चैतदेखि जेठसम्म तीन महिने वन डढेलो रोकथाम नियन्त्रण तथा प्रज्वलनशील पदार्थ व्यवस्थापन सम्बन्धी कार्यक्रम सुरु भएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!