
डडेल्धुरा । ‘देश बनाउने जिम्मेवारी केवल सरकार वा नेताहरूको मात्र हुँदैन, सचेत, सक्षम र जिम्मेवार नागरिक नै समृद्ध समाजको आधार हुन’ भन्ने मूल नाराका साथ डडेल्धुरामा ‘सक्षम नागरिक-समृद्ध डडेल्धुरा’ अभियानको घोषणा गरिएको छ । डडेल्धुराका स्थानीय युवा निरज भट्टले आफ्नो व्यक्तिगत नेतृत्व र लगानीमा यो सामाजिक अभियानको सुरुवात गरेका हुन् ।
भट्टका अनुसार आगामी २०८३ साल वैशाख १ गतेदेखि प्रत्येक महिनाको १ गते बेलुका ६ः०० बजेदेखि ९ः०० बजेसम्म ३ घण्टे निःशुल्क भर्चुअल (अनलाइन) अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । यस कार्यक्रममा सम्बन्धित क्षेत्रका शीर्ष विज्ञ, प्रशिक्षक तथा अनुभवी व्यक्तित्वहरूले विभिन्न विषयमा प्रशिक्षण दिने तालिका सार्वजनिक गरिएको छ ।
यो अभियान कुनै राजनीतिक कार्यक्रम नभई डडेल्धुरामा सक्षम नागरिक निर्माण गर्ने उद्देश्यले चालिएको एक जिम्मेवार नागरिकको पहल भएको भट्टले स्पष्ट पारेका छन् । कार्यक्रममा मुख्य रूपमा डडेल्धुरा जिल्लाका मतदाताहरू सहभागी हुन पाउनेछन् भने उक्त कार्यक्रमका रेकर्डेड भिडियोहरू युट्युबमार्फत सार्वजनिक गरिनेछ, जसले देशभरका नागरिकलाई लाभ पुर्याउने विश्वास गरिएको छ ।
अभियानअन्तर्गत २०८३ सालभर सञ्चालन हुने १२ महिने कार्यतालिका समेत सार्वजनिक गरिएको छ । जसअनुसार वैशाख १ गते उद्यमशीलता तथा स्थानीय उत्पादन प्रवर्द्धन, जेठ १ गते आधुनिक तथा व्यावसायिक कृषि, र असार १ गते गुणस्तरीय शिक्षा र अभिभावकको भूमिकाबारेमा छलफल हुनेछ ।
साउनमा डडेल्धुराको पर्यटन, भदौमा स्वास्थ्य र वातावरण, असोजमा नागरिक चेतना र लागूऔषध दुर्व्यसन नियन्त्रण, तथा कात्तिकमा डिजिटल साक्षरताबारे प्रशिक्षण दिइनेछ ।
त्यसैगरी मंसिरमा संविधान र नागरिक अधिकार, पुसमा स्मार्ट भिलेज र स्मार्ट कम्युनिटीको अवधारणा, माघमा डिजिटल अर्थतन्त्र र अनलाइनबाट आयआर्जनका अवसर, फागुनमा वित्तीय साक्षरता (बैंक, बीमा र सेयर बजार) र चैतमा महिला सशक्तीकरण तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रम हुनेछ ।
अभियानको पहिलो वर्षका सबै कार्यक्रम पूर्ण रूपमा भर्चुअल माध्यमबाट सञ्चालन हुने र सहभागीका लागि कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ । यस अभियानले डडेल्धुरामा सचेत र जिम्मेवार नागरिक निर्माण गर्दै समग्र जिल्लाकै समृद्धिका लागि नयाँ इँटा थप्ने अपेक्षा गरिएको छ ।

संगालोखबर 















