संगालोखबर


विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री तथा झापा-५ का उम्मेदवार केपी शर्मा ओलीले आज प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । यस क्षेत्रलाई पूर्वी नेपालकै नमूना निर्वाचन क्षेत्र बनाउने लक्ष्यका साथ भौतिक पूर्वाधारदेखि प्रविधिसम्मका योजनाहरू अघि सारेर प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धता पत्रमा भौतिक पूर्वाधार, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार, शिक्षाको गुणस्तर अभिवृद्धि र सुशासनलाई मूल प्राथमिकतामा राखिएको छ । विगतमा आफ्नै नेतृत्वमा सुरु गरिएका बहुचर्चित योजनाहरूलाई निरन्तरता दिँदै अधुरा आयोजना सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

प्रतिबद्धता पत्रमा राजनीतिक स्थायित्व र सुशासनलाई विकासको आधारका रूपमा व्याख्या गरिएको छ । देशमा दोहोरिँदै आएको राजनीतिक अस्थिरता अन्त्य नगरी समृद्धिको लक्ष्य हासिल गर्न नसकिने भन्दै एमालेले स्थिर सरकार र नीतिगत निरन्तरताको आवश्यकता औंल्याएको छ ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता व्यक्त गर्दै सार्वजनिक स्रोत साधनको दुरुपयोग रोक्न कानुनी र प्रशासनिक संयन्त्रलाई सुदृढ गरिने उल्लेख गरिएको छ । समसामयिक प्रविधि र डिजिटल युगका चुनौतीलाई पनि एमालेले आफ्नो प्रतिबद्धतामा समेटेको छ ।

कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी नियमन आवश्यक रहेको उल्लेख गर्दै प्रविधिको प्रयोग विकास, शिक्षा र रोजगारी सृजनामा केन्द्रित गरिने बताइएको छ । डिजिटल साक्षरता अभिवृद्धि, अनलाइन ठगी र साइबर अपराध नियन्त्रणका लागि कडा कानुनी व्यवस्था ल्याउने संकेत पनि प्रतिबद्धता पत्रमा गरिएको छ ।

झापा-५ का बासिन्दाले वर्षौंदेखि भोग्दै आएको नदी कटान र बाढी समस्यालाई एमालेले प्रमुख मुद्दाका रूपमा उठाएको छ । रतुवा, मावा र कमल खोला लगायतका नदीहरूमा तटबन्धन निर्माण गरी कटान नियन्त्रण गर्ने योजना अघि सारिएको छ ।

बाढीका कारण हरेक वर्ष खेतीयोग्य जमिन र बस्ती जोखिममा पर्ने अवस्थालाई दीर्घकालीन रूपमा समाधान गर्ने दाबी गरिएको छ । साथै नदी पार गर्न पक्की पुल निर्माण गरी आवागमन सहज बनाइने उल्लेख गरिएको छ ।

भौतिक पूर्वाधारको क्षेत्रमा एमालेले सडक र पुल निर्माणलाई उच्च प्राथमिकता दिएको छ । दमक-चिसापानी-रवि सडकखण्डको निर्माण कार्यलाई शीघ्र पूर्णता दिने, पाडाजुँगी-गौरीगञ्ज-आल्ताबारी सडकको स्तरोन्नति गर्ने र हुलाकी मार्गअन्तर्गत माई नदीको पुलको अधुरो काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यी आयोजना सम्पन्न भएमा झापा-५ को यातायात सञ्जाल सुदृढ हुने, कृषि उत्पादन बजारसम्म सहज रूपमा पुग्ने र औद्योगिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ । कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउने योजना पनि प्रतिबद्धतामा समेटिएको छ ।

उन्नत बीउ बिजन, सिँचाइ सुविधा विस्तार, कृषि यान्त्रीकरण र बजार व्यवस्थापनमा सरकारी सहजीकरण गरिने उल्लेख छ । युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न सहुलियत ऋण, तालिम र प्रविधि हस्तान्तरणको कार्यक्रम ल्याइने बताइएको छ । झापा-५ लाई खाद्यान्न, दुग्ध तथा बागवानी उत्पादनको प्रमुख केन्द्र बनाउने लक्ष्य एमालेले राखेको छ ।

स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय बनाउने प्रतिबद्धता जनाइएको छ । स्थानीय स्वास्थ्य चौकीहरूको स्तरोन्नति, आवश्यक जनशक्ति व्यवस्थापन र अत्याधुनिक उपकरण उपलब्ध गराउने योजना समेटिएको छ । गम्भीर बिरामीलाई बाहिर धाउनुपर्ने बाध्यता अन्त्य गर्न क्षेत्रीय स्तरमै विशेषज्ञ सेवा विस्तार गर्ने दाबी गरिएको छ ।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड र डिजिटल शिक्षण प्रणाली विस्तार गर्ने लक्ष्य प्रस्तुत गरिएको छ । विद्यालय पूर्वाधार सुधारसँगै सूचना प्रविधिमैत्री कक्षा सञ्चालन गर्ने योजना एमालेले अघि सारेको छ । उच्च शिक्षाका लागि छात्रवृत्ति र अनुसन्धानमा सहयोग उपलब्ध गराइने उल्लेख छ ।

एमालेले झापा-५ लाई आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य पनि अघि सारेको छ । साना तथा मझौला उद्योग प्रवर्धन, उद्यमशीलता विकास र स्थानीय उत्पादनको ब्रान्डिङमार्फत रोजगारी सृजना गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ । पर्यटनको सम्भावना रहेका क्षेत्रको पहिचान र पूर्वाधार विकास गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना लगायत समेटिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!