सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित मतदाता शिक्षा कार्यक्रम देशभरसँगै धनकुटामा पनि सुरु भएको छ । मतदान प्रक्रियालाई सहज, सरल बनाउन साथै बदर हुने मत घटाउनका लागि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो ।

धनकुटाका सातवटै पालिकाका ६० वटै वडामा स्वयम् सेवकहरूबाट मतदाता शिक्षा दिन थालिएको छ । निर्वाचनका क्रममा बदर मतको संख्या न्यून बनाउने उद्देश्यसहित मतदाता शिक्षा कार्यक्रमलाई तिव्रता दिइएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठका जानकारी दिए ।

सात वटै पालिकाका घर-घरमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरि आवश्यक स्वयम् सेवकहरू खटाइएको उनले बताए । मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिने, मतपत्र प्रयोग गर्ने सही तरिका बुझाउने तथा मतदान गर्दा ध्यान दिनुपर्ने विषयमा सचेत गराउने काम सुरु भएका हो ।

विशेषगरी नयाँ मतदाता, पहिलो पटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक तथा कम साक्षर मतदातालाई लक्षित गरी व्यवहारिक अभ्याससहित कार्यक्रम सञ्चालन गर्न थालिएको कार्यालयले जनाएको छ ।

मतपत्रमा सही चिन्ह कसरी लगाउने, समानुपातिक र प्रत्यक्ष प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयता सम्बन्धी विषयमा जानकारी दिन थालिएको छ ।

सबै मतदातालाई मतदाता शिक्षा कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै कार्यालयले निष्पक्ष, मर्यादित र सफल निर्वाचन सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ ।

मतदाता शिक्षाको लागि धनकुटाका ७ वटै स्थानीय तहमा अनुगमनका लागि निर्वाचन सम्पर्क व्यक्ति एक/एक जना खटाइएको छ । यस्तै जिल्लाका ६० वटै वडामा मतदाता शिक्षाका लागि एक/एक जना स्वयंसेवक खटाइएको कार्यालयले जनाएको छ ।

मतदाता शिक्षाका लागि स्वयंसेवीहरूमा बालविकास सहजकर्ता वा स्वास्थ्य स्वयंसेवीका तथा सामाजिक परिचालकलाई तोकिएको छ । मतदाता शिक्षाका लागि खटिने स्वयंसेवकहरूलाई १० हजार रुपैयाँ र स्थानीय तहका सम्पर्क व्यक्ति अर्थात अनुगमन कर्तालाई ५ हजार रुपैयाँ पारिश्रमिक आयोगले दिने भएको छ ।

स्वयंसेवकले मतदाताको घर, बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय भएको छ । आयोगले विगतदेखि नै सबै स्थानीय तहमा एक/एक जना सम्पर्क व्यक्ति तोक्ने गरेको थियो ।

सोही सम्पर्क व्यक्तिलाई नै यसपटक मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ताका रूपमा खटाइएको जनाइएको छ । एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा मतदाता संख्या एक लाख १८ हजार ४ सय २५ छन् ।

१ सय १९ मतदान स्थल र १ सय ६६ मतदान केन्द्र कायम गरिएको धनकुटामा जिल्ला कारागारमा एक र निर्वाचनमा नखटिएका कर्मचारीका लागि एक गरि २ वटा अस्थायी मतदान स्थल कायम गरिएको छ ।

धनकुटामा कस्तो छ मत बदरको अवस्था ? 
२०७९ सालमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रत्यक्षको तुलनामा समानुपातिकमा बढी मत बदर भएको छ । २०७९ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ लाख १६ हजार ९ सय ९१ मतदाता रहेकोमा प्रत्यक्षतर्फ ६९ हजार ४ सय १४ अर्थात ५९ दशमलब ३६ प्रतिशत मत खसेको थियो । 

जसमध्ये ६६ हजार ७ सय २७ सदर मत रहेकोमा २ हजार ७ सय १७ अर्थात ३ दशमलब ९१ प्रतिशत मत बदर भएको थियो । त्यसैगरी समानुपातिकतर्फ ७० हजार २ सय १९ अर्थात ५९ दशमलब ५१ प्रतिशत मत खसेको थियो । जसमा  ६६ हजार ३ सय २० मत सदर रहेकोमा ३ हजार ८ सय ९९ अर्थात् ५ दशमलब ५५ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कमा छ । 

यस्तै २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ ४ दशमलव ६९ र समानुपातिक तर्फ ५ दशमलव ६५ प्रतिशत मत बदर भएको थियो । त्यसैगरी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ ५ दशमलव ४८ प्रतिशत मत बदर भएको थियो । 

जिल्लामा मतदाता शिक्षा प्रभावकारी नभएको तथा समानुपातिक तर्फ धेरै चुनाव चिह्न भएका कारण गत निर्वाचनहरूमा बढी मत बदर हुने गरेको मतदाताको भनाइ छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!