
धनकुटा । तेह्रथुमको छथर गाउँपालिका-६ सुदापस्थित चाङ्लुङ गुफामा जातीय, सांस्कृतिक विविधता तथा साहित्यिक सहअस्तित्व विषयक प्राज्ञिक विचार गोष्ठी भएको छ । सोमबार कला र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले यस्ता प्राज्ञिक विचार गोष्ठीहरूले स्थानीय कला-संस्कृतिको जगेर्नाका साथै पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
गोष्ठीले स्थानीय तहमा आर्थिक गतिविधि र पर्यटन क्षेत्रलाई चलायमान बनाउने उनको भनाइ थियो । सामाजिक, साहित्यिक तथा सांस्कृतिक सहअस्तित्व जोगाउन सबै पक्ष सचेत र सक्रिय हुनुपर्नेमा उनले जोड दिए । तेह्रथुमको किराँतकालीन राज्यसत्ता राज्यद्वारा विखण्डन गरिएकाले यस विषयमा विशेष ध्यान दिन आवश्यक रहेको उनको धारणा थियो ।

छथर क्षेत्रका जातीय तथा सांस्कृतिक विविधता र साहित्यिक-सामाजिक सहअस्तित्व विषयक कार्यपत्र डा. कमल तिगेला (खेवाहाङ लिम्बु) ले प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष डा. देवी क्षेत्री दुलालले कला, भाषा, साहित्य तथा पर्यटकीय स्थल संरक्षणमा देखिएका चुनौती र समस्याको समाधानका लागि स्थानीय सरकारले संरक्षण तथा पहल गर्नुपर्ने बताए ।
त्यसैगरी टिप्पणीकार उपप्राध्यापक डा. धर्म ढकालले आफ्नै जातीय पहिचान आफैँले जोगाउनुपर्ने धारणा व्यक्त गरे । अन्य जातिका संस्कार तथा धर्म अरूले अपनाउँदा त्यसको मौलिक महत्व क्रमशः घट्दै गएको उनले बताए ।
ऐतिहासिक कला-संस्कृतिको पृष्ठभूमि समेटिएको र पाठकले सहज रूपमा बुझ्न सक्ने कार्यपत्र प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए । सांस्कृतिक पर्यटनलाई आर्थिक विकाससँग जोड्दै साहित्यिक महोत्सवमार्फत कला-संस्कृतिको संरक्षण गर्नुपर्ने उनको सुझाव थियो ।

ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण यस क्षेत्रको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै पर्यटनसँग जोडेर आर्थिक उन्नति गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छन् ।
जातीय विविधतायुक्त यस क्षेत्रमा प्राचीन हाक्पारे र सिलोकदेखि वर्तमान कथा, कविता, गीत, गजलसम्म तथा नृत्यतर्फ केलाङ, माङ्लाङ, हुड्केली, तामाङ सेलोदेखि आधुनिक नृत्यसम्मका परम्परा रहेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठान, सामाजिक शास्त्र विभाग काठमाडौंको सहकार्यमा छथर गाउँपालिकाको व्यवस्थापन तथा खेवाहाङ केलाङ सङ्ग्रओबि जनचेतना सांस्कृतिक परिवार, टाट्नो सङ्गीत र छथर साहित्यिक समाज शुक्रबारेको आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा चाङ्लुङ गुफामा साहित्यिक, सांस्कृतिक तथा सांगीतिक साँझसहित विभिन्न जातीय पहिचान झल्किने झाँकी प्रस्तुत गरिएको छ । त्यसैगरी स्थानीय उत्पादन बाँस, पराल र सेउलालगायतका सामग्री प्रयोग गरी पुरानो शैलीमा कार्यक्रम सञ्चालनका लागि संरचना निर्माण गरिएको थियो ।

सन्तोष सुवेदी/संगालोखबर 














