संगालोखबर


विराटनगर । ओखलढुंगामा वृद्ध राई दम्पतीको हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ओखलढुंगाकै चिशंखुगढी गाउँपालिका-६ का ३४ वर्षीय धनबहादुर राना मगर र एक १७ वर्षीय किशोर छन् । लुटपाट गर्ने उद्देश्यले यही माघ १२ गते राति चिशंखुगढी-६ का ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी ८० वर्षीया श्रीमती चन्द्रमाया राईको हत्या भएको थियो ।

प्रारम्भिक अनुसन्धानबाट अभियुक्तहरू काठमाडौंमै बस्दै आएको र लुट्ने योजनासहित विशेष रूपमा ओखलढुंगा पुगेको खुलेको छ । हत्या भएको भोलिपल्ट राई दम्पती खाट छेउको भुइँमा सिरक ओढेको अवस्थामा मृत फेला परेका थिए ।

प्रहरीले घटनामा प्रयोग भएको कोदालो समेत बरामद गरेको छ । पक्राउ परेका अभियुक्तहरूको कोठाबाट मृतकले प्रयोग गर्ने मोबाइल फोन, अभियुक्तहरूले प्रयोग गर्ने २ थान मोबाइल, लुटिएका १ सय ५९ थान रिचार्ज कार्ड, मृतकको कानमा लगाउने मारवाडी १ जोर, १ थान सिक्री, सी माला तथा नगद १२ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध म्याद थप गरेर अनुसन्धान अघि बढाइएको ओखलढुङ्गा प्रहरीका सूचना अधिकारी बिक्रम बहादुर भट्टराईले जानकारी दिए ।

यसअघि पनि चिशंखुगढी गाउँपालिका-६ मा गत पुस १५ गते किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती ६० वर्षीया रत्नमाया थापा मगरको लुटपाटकै उद्देश्यले हत्या भएको थियो । उक्त घटनामा संलग्न ४ जना अभियुक्त हाल पुर्पक्षका लागि कारागारमा छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!