
धनकुटा । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षालाई लक्षित धनकुटामा सेना परिचालन तीव्र पारिएको छ । कोशी प्रदेशका १४ वटै जिल्लामा सेना परिचालन भएसँगै धनकुटामा पनि निर्वाचन लक्षित सेना परिचालन तीव्र पारिएको हो ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारले दिएको निर्देशन बमोजिम धनकुटामा पनि सेना परिचालन गरिएको छ ।
एकीकृत निर्वाचन सुरक्षा योजनामा अनुसार धनकुटाका सात वटै पालिकामा सुरक्षालाई मध्यनजर गरि आवश्यकता अनुरूप सेना परिचालन गरिएको भीमदल गण सल्लेरी धनकुटाका प्रमुख सेनानी गणेश थापाले जानकारी दिए ।
सोही अनुसार जिल्लामा सेनाले गस्ती तीव्र बनाएको उनले बताए । निर्वाचनको दौरानमा शान्ति सुव्यवस्था कायम राख्न सबै सुरक्षा निकायहरूलाई सहयोग गर्न सेनाले सर्वसाधारणसँग अनुरोध समेत गरेको छ ।
धनकुटामा कुल १ सय १९ मतदान स्थलमा १ सय ६६ मतदान केन्द्र कायम गरिएको छ । यस्तै जिल्ला कारागार धनकुटामा र निर्वाचनमा नखटिएका कर्मचारीका लागि २ वटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा १ लाख १८ हजार ४ सय २५ मतदाता छन् ।

सन्तोष सुवेदी/संगालोखबर 














