
विराटनगर । मोरङमा पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन हुने भएको छ । कक्षा ६ मा अध्ययनरत र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका १२ हजार ७ सय ५५ बालिकालाई लक्षित गरि अभियान सञ्चालन गर्न लागिएको हो ।
जिल्ला खोप समन्वय समिति मोरङले आज विराटनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले माघ २५ देखि अभियान सुरु गरिने बताए ।
३ देखि ५ दिन भित्रमा अभियान सक्ने गरि ८ सय २७ वटा खोप केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए । गत वर्ष अभियानमा छुटेका बालिकाहरूलाई पनि यस अभियानमा सहभागि गराइने उनले बताए ।
गत वर्ष ५० हजार बालिकालाई खोप दिइएको उनले जानकारी दिए । पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा वर्षेनी करिव १ हजार २ महिलाले ज्यान गुमाउनुपर्ने अवस्था रहेको उनले बताए ।
अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले लक्षित समूहका बालिकाहरू नछुट्नेगरी अभियान सञ्चालन गर्नुपर्ने बताए । पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको खोप अभियानमा कुनै सङ्कोच नमानी सहभागी हुन बालिकाहरूलाई राईले आग्रह गरे ।

संगालोखबर 














