भारतमा निर्वाचन सुधारका पिता भनेर टी.एन. शेषनलाई भनिन्छ । भारतका १० औँ मुख्य निर्वाचन आयुक्त सन् १९९० देखि १९९६ सम्म कार्यभार सम्हालेका उनी तत्कालीन अवस्थामा निर्वाचनमा व्यापक सुधार गरेर चर्चित भएका थिए ।

उनको जन्म सन् १९३३ मे १५ तारिखका दिन केरला प्रान्तमा भएको थियो । उनको मृत्यु सन् १९१९ नोभेम्बर १० मा चेन्नाई तमिलनाडुमा भएको थियो । प्रख्यात हार्बर्ड विश्वविद्यालयबाट उनले सार्वजनिक प्रशासन विषयमा अध्ययन गरेका थिए ।

सन् १९५५ मा भारतीय प्रशासनिक सेवा (आई ए एस) उत्तीर्ण गरी उनी सरकारी जागिरमा प्रवेश गरेका थिए । उनको मूल मन्त्र भनेको पारदर्शी, निष्पक्ष र अनुशासित निर्वाचन नै हो । कसैको दबाबमा तथा ठूलो र सानो नभनी कानुनको नजरमा सबैलाई बराबर ठानेर व्यवहार गर्दथे ।

उनको भनाइ थियो, कानुन तोड्ने चाहे प्रधानमन्त्री नै किन नहोस् कारबाही हुन्छ । तत्कालीन अवस्थामा निकै लोकप्रिय प्रमुख निर्वाचन आयुक्त टी.एन. शेषन थिए । उनी भन्थे कानुन सबैका लागि बराबर हुन्छ । भारतमा निर्वाचन पूर्व आचारसंहिता पूर्णरूपमा उनले लागू गराएरै छाड्थे । उनको पालामा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको ठहरिएमा ठाउँको ठाउँ कारबाही गर्ने गर्दथे । ठूला नेता तथा ठूला दलका प्रख्यात नेतालाई समेत उनले छुट दिएका थिएनन् ।

केन्द्रीय मन्त्री, मुख्यमन्त्री, सांसद जोकोहीलाई पनि उनले स्पष्टीकरण सोध्ने तथा कारबाहीको प्रक्रिया अगाडि बढाउने कार्य गर्दथे । हक्की स्वभावका शेषन तत्कालीन अवस्थामा निकै चर्चित भएका थिए । उनले जयललिता, सीताराम केसरी, कल्पना राय, नारायण दत्त तिवारी लगायतलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका कारण स्पष्टीकरण सोध्नुका साथै सरकारलाई कारबाही गर्न पत्राचार समेत गरेका थिए ।

निर्वाचनको समयमा अभद्र भाषा, घृणात्मक भाषण, नियम विपरीत सभामा रोक लगाएका थिए । त्यसैगरी सरकारी स्रोत र साधनको दुरुपयोगमा कडा कदम चालेका थिए । कालो धनको प्रयोग गर्नेहरू माथि विशेष निगरानी बढाएका थिए ।

उच्च तहका सरकारी कर्मचारीहरूलाई समेत तत्काल सरुवा वा निलम्बन गर्न उनीपछि परेका थिएनन् । तत्पश्चात निर्वाचनमा व्यापक सुधार आएको थियो । उनले नाम, पद, दल केही हेरेनन्, केवल कानुन मात्र हेरे । टी.एन. शेषनकै पालामा भारतमा मतदाता पहिचान कार्ड लागू भएको हो ।

निर्वाचनमा उम्मेदवारको खर्चको सीमा निर्धारण, निर्वाचन प्रचार–प्रसारमा अनुमति, निर्वाचन पोस्टर, ब्यानर र पम्प्लेट नियम अनुसार निर्माण गर्न दल तथा नेताहरूलाई बाध्य पारेका थिए । केही नेताहरू प्रमुख निर्वाचन आयुक्तसँग डराउँथे ।

निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको देखिएमा उनले उम्मेदवारी रद्द समेत गरिदिन्थे । निर्वाचनको समयमा पैसाको खोलो बगाउने धाकधम्की, जात, धर्मको नाममा निर्वाचन दूषित बनाउन खोज्नेलाई उनले कारबाही अगाडि बढाएका थिए । केन्द्रीय मन्त्री, मुख्यमन्त्री, प्रभावशाली नेता लगायतको प्रचार–प्रसारमा सरकारी सुविधा फिर्ता तथा चुनावी कार्यक्रम रद्द समेत गरिदिएका थिए ।

नेपालले भारतको निर्वाचन आयोग तथा पूर्व प्रमुख निर्वाचन आयुक्त टी.एन. शेषनबाट थुप्रै पाठ सिक्नुपर्ने अवस्था सिर्जना भएको छ । माघ ४ गतेबाट निर्वाचन आचारसंहिता लागू भइसकेको छ । तर सबै जिल्लामा निर्वाचन आचारसंहिता विपरीत दल र नेताहरूले निर्वाचन गतिविधि बढाएको सम्बन्धमा निर्वाचन आयोगमा थुप्रै उजुरीहरु परिसकेका छन् ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना नगर्ने ठूला वा साना, नयाँ वा पुराना, शीर्ष वा साना नेता जो–कोहिलाई पनि कानुनको दायरामा ल्याउन सक्नुपर्दछ । निर्वाचन आचारसंहिता पालना भएमा लोकतन्त्र बलियो, स्वच्छ, निर्वाचन निष्पक्ष र तोकिएको समयमा सम्पन्न हुने निश्चित छ ।

विगतमा पनि निर्वाचन आचारसंहिता विपरीत दलहरू र नेताहरूले थुप्रै गतिविधि गरेका थिए । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्न सकेन । निर्वाचनमा व्यापक सुधार गर्नका लागि निर्वाचन आयोगले कठोर नीति लिनैपर्ने हुन्छ ।  निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले कठोर नीति लिएर अगाडि बढ्नुपर्ने अवस्था छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!