
झापा । नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ को चुनावी अभियानलाई तीव्र बनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको यस क्षेत्रमा टोलस्तरीय बैठक, भेला र निर्वाचन परिचालन लगायतका समिति, उपसमिति गठन गर्दै एमालेले चुनावी अभियानलाई तीव्र बनाएको हो ।
एमालेका केन्द्रिय, प्रदेश स्तरका तथा स्थानीय नेताहरू मतदातासँग प्रत्यक्ष संवादमा जुट्दै विगतका उपलब्धि र आगामी योजनाबारे जानकारी गराइरहेका छन् । यस्तै युवा, महिला र किसानलाई लक्षित कार्यक्रममार्फत समेत एमाले मतदातामाझ पुगी रहेको छ ।
यसै क्रममा एमालेले कमल गाउँपालिकाको वडा नम्बर ६ मा निर्वाचन परिचालन समिति गठन गरेको छ । आज खयरबारीमा आयोजित भेलाले पार्टीका नेता मोहिनी खनाल संयोजक रहनेगरी निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

समितिको सहसंयोजकमा निलकण्ठ निरौला र सचिवमा वडा कमिटी अध्यक्ष युवराज पाठक छन् । यस्तै देवेन्द्र पराजुलीको संयोजकत्वमा युवा, सुजिता गुरागाईको संयोजकत्वमा महिला, टंक सापकोटाको अध्यक्षमा ज्येष्ठ र खोमनाथ निरौलाको संयोजकत्वमा बुद्धिजिवी परिचालन समिति गठन गरिएको पार्टीका जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज दीपक खड्काले जानकारी दिए ।
पालिका भरिनै टोल तथा वडा समितिहरू गठन भइरहेको गाउँकमिटी अध्यक्ष हरि ढकालले बताए । वडा भेला कार्यक्रममा प्रदेश कमिटी सदस्य बेनुप्रसाद शिवाकोटी, मणि भण्डारी, जिल्ला उपाध्यक्ष शिव ढुंगेल लगायतका वक्ताले आगामी निर्वाचनले राष्ट्रियता पक्षधर र राष्ट्र विरोधीको कित्ता छिनोफानो गर्ने बताए ।

संगालोखबर 













