
सिरहा । सिरहाको गोलबजार नगरपालिका-३ जमदहकी १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाट हराएपछि आफन्तहरू आक्रोशित भएका छन् । आक्रोशित आफन्त र स्थानीयले आज गोलबजारमा प्रदर्शन गरेका छन् ।
पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा राखिएको शव फेला नपरेपछि पीडित परिवार सडकमा उत्रिएका हुन् ।
गत माघ १० गते आफ्नै घरमा मृत फेला परेकी निशालाई प्रहरीले प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि लहान पठाएको थियो । उनका बुबाआमा रोजगारीको सिलसिलामा भारतमा रहेकाले सोमबार फर्केर शव लिन अस्पताल पुग्दा शव फेला नपरेपछि आफन्त आक्रोशित भएका हुन् ।
पोष्टमार्टम समेत नभएको शव हराउनु अस्पताल र प्रहरी प्रशासनको गम्भीर लापरबाही भएको स्थानीयको दाबी छ । उनीहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

संगालोखबर 













