
विराटनगर । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-६ भदौरेमा पुनः एक वृद्ध दम्पतीको विभत्स हत्या भएको छ । बोहोरे टोलका ८० वर्षीय चन्द्र विक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको लुटपाटपछि हत्या भएको हो ।
आज बिहान करिब ७ बजेतिर उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू सानो पसल सञ्चालन गर्दै आएका थिए ।
पसलमा लुटपाट गरी उनीहरूको हत्या भएको प्रहरीको अनुमान छ । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको ओखलढुङ्गामा प्रहरी प्रमुख डीएसपी मदन केसीले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।
एक महिनाअघि पनि चिशंखुगढी भदौरेमा ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती ६० वर्षीया रत्नमाया थापामगरको हत्या भएको थियो । मगर दम्पतीको हत्यामा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको छ ।

संगालोखबर 













