सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । ताप्लेजुङको पाथीभरा निर्माण गर्न लागिएको केबलकार परियोजना तत्काल रोक्न माग गर्दै धनकुटामा विरोध कार्यक्रम आयोजना गरिएको छ । आज धनकुटाको मदन चोकमा कोशी नाम खारेज जिल्ला संघर्ष समिति र मुकुम्लुङ संरक्षण संघर्ष समितिको संयुक्त आयोजनामा विरोध कार्यक्रम गरिएको हो ।

मुकुम्लुङ-पाथीभरा क्षेत्रलाई आदिवासी समुदायको ऐतिहासिक, सांस्कृतिक र धार्मिक आस्थाको केन्द्रका रूपमा उल्लेख गर्दै त्यस क्षेत्रमा केवलकार निर्माणले पहिचान, परम्परा र वातावरणमा गम्भीर असर पार्ने भन्दै विरोध गरेका थिए ।

विकासको नाममा स्थानीय समुदायको भावना, धार्मिक मान्यता र ऐतिहासिक महत्वमाथि हस्तक्षेप स्वीकार्य नहुने किराँत याक्थुम चुम्लुङका केन्द्रीय सदस्य चन्द्रसिंह नेम्बाङले बताए ।

यस्तै मुकुम्लुङलाई केवल धार्मिक स्थल मात्र नभई आदिवासी समुदायको सभ्यता, संस्कार र आत्मसम्मानसँग जोडिएको भूमि भएको विश्वहिन्दु महासंघ कोशी प्रदेशका आनन्द सन्तोषी राईले उल्लेख गरे ।

पाथीभरा क्षेत्रमा पूर्वसूचना, स्थानीयको सहमति र पर्याप्त वातावरणीय अध्ययन विना अगाडि बढाइएको कुनै पनि आयोजना खारेज गर्नुपर्ने आन्दोलन संघर्ष समितिले माग राखेका थिए ।

आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष नविनकिशोर शाक्यले विकासका नाममा स्थानीय संस्कृति, प्रकृति र आस्थामाथि चोट पुर्याउन नहुने धारण राखेका थिए ।

यसअघि पनि ताप्लेजुङ, धरान, विराटनगरलगायत स्थानमा केबलकार निर्माणको विरोधमा प्रदर्शन, ज्ञापनपत्र र सांकेतिक आन्दोलन हुँदै आएका थिए । माघ १८ गते देखि केबलकार निर्माणका विरुद्ध ताप्लेजुङमा आन्दोलनको तयारी रहेको संर्घष समितिले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!