
विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा भएको प्रथम अण्डर–१६ मेयर कप फुटबल प्रतियोगिताको उपाधि आदर्श माध्यमिक विद्यालयले जितेको छ ।
आज विराटनगरस्थित सहिद रंगशालामा सम्पन्न प्रतियोगितामा डनबस्को स्कुललाई ३–० गोलअन्तरले हराउँदै आदर्शले उपाधि जितेको हो ।
उपाधिसँगै आदर्शले १ लाख २५ हजार नगदसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । आदर्शका लागि एलन थापा, दिलीप यादव र आदित्य ढुंगेलले १–१ गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच डनबस्कोका उदेश केसी घोषित भए । उनले नगदसहित ट्रफी हात पारे । उपविजेतामा सीमित डनबस्कोले नगद ७५ हजारसहित ट्रफी, मेडेल र प्रमाणपत्र प्राप्त गरेको छ ।

सेन्ट जोसेफ र जनता नमुना माविलाई तेस्रो पुरस्कार प्रदान गरिएको छ । दुवै विद्यालयलाई नगद ३५–३५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिता समन्वय गरेको आदर्श माविका प्राचार्य सन्तोष पोखरेलले बताए ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार आदर्शका एलन थापाले प्राप्त गरे । सबैभन्दा बढी गोल गर्ने खेलाडीका रूपमा डनबस्कोका प्रकाश कामत घोषित भए । उत्कृष्ट गोलकिपरको पुरस्कार आदर्शका योगेश राजवंशीले हात पारे ।
कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले नगदसहित शिल्ड प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले आगामी वर्षदेखि प्रतियोगितालाई अझै भव्य बनाउने प्रतिबद्धता व्यक्त गरे ।

संगालोखबर 













