सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय झन्डाको दुरुपयोग गर्नु गैरकानुनी गतिविधि भएको बताएका छन् । शनिबार धनकुटा लेडी जेसिजको सातौँ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

राष्ट्रिय झण्डा ओडेर कुनै पनि नकारात्मक गतिविधि गर्नु कानुन विपरीत भएको उनले उल्लेख गरे । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भोट माग्न हिँड्दा राष्ट्रिय झन्डाको दुरुपयोग भइरहेको भन्दै उनले आपत्ति जनाए ।

विभिन्न पार्टीहरूले चुनाव प्रचारका क्रममा राष्ट्रिय झन्डाको दुरुपयोग गरेको भन्दै उनले राष्ट्रिय एकता र प्रतीकको अवमूल्यन भएको बताए । नेपालीको साझा प्रतीकका रूपमा रहेको राष्ट्रिय झण्डा ओडेर व्यक्तिका घर, सार्वजनिक प्रतिष्ठान र सम्पत्तिमा आगजनी गर्ने कुनै पनि व्यक्तिलाई क्षमा दिन नहुने उनको भनाइ थियो ।

‘राष्ट्रिय झण्डा काँधमा ओढेर कुनै पनि सरकारी वा निजी भवन तथा सवारीसाधनमा आगो लगाउने काम उचित हैन’, उनले भने, ‘आगो लगाउनु मात्रै नभएर राष्ट्रिय झण्डा ओडेर लुट्न, डकैती गर्नु जायज हुन्छ ?’

राष्ट्रिय झन्डाको दुरुपयोग गरी राष्ट्रिय एकता, लोकतन्त्र र सामाजिक सद्भाव माथी नकारात्मक असर पुर्याउने कार्यलाई नियन्त्रणमा लिन आवश्यक रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री कार्कीले अहिलेका युवाहरूमा नकारात्मक सोच विकसित भइरहेकोले समाजमा सकारात्मक सोचको विकास गर्न लेडी जेसिजले अगुवाइ गर्नुपर्ने बताए । कार्कीले परिवर्तनको पक्षका भन्ने युवा पंक्तिले चलाउने सामाजिक सञ्जाल हेर्न नसकिने अवस्थामा रहेको बताए ।

उनले सामाजिक सञ्जालमा धेरै अश्लिल शब्द प्रयोग हुने गरेको बताउँदै सकारात्मक चेतना फैलाउन लेडी जेसिजलाई अगुवाई गर्न आग्रह गरे । सोही अवसरमा उनले प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्षका रूपमा मनाइरहेको उल्लेख गर्दै २०८३, २०८४ र २०८५ लाई कोशी भ्रमण वर्षको रूपमा मनाउने तयारी रहेको बताए ।

उनले वर्षमा १० लाख पर्यटक भित्र्याउने तयारीका साथ भ्रमण वर्ष मनाउन लागिएको उल्लेख गरे ।  कार्यक्रममा जेसिज वर्ष २०२५ की अध्यक्ष सरस्वती राईले वर्ष २०२६ की अध्यक्ष टीका राईलाई पद हस्तान्तरण गरेकी थिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!