सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा निर्वाचन प्रहरी भर्नाका लागि पुनः म्याद थप गरिएको छ । छनौट तथा नियुक्ति समितिले निर्वाचन प्रहरी भर्नाका लागि दोस्रो पटक म्याद थपेको हो ।

धनकुटाका प्रहरी प्रमुख एसपी शरत कुमार थापा क्षेत्रीले निर्वाचन प्रहरी भर्नाका लागि माघ ११ गतेसम्म आवेदन दिन सकिने बताए । यसभन्दा अघि माघ ३ गतेसम्म समय थपिएको थियो ।

निर्वाचन प्रहरीमा भर्ना हुनका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा, सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेड क्वाटर छिन्ताङ, इलाका प्रहरी कार्यालय छिन्ताङ र इलाका प्रहरी कार्यालय राजारानी आवेदन दिन सकिने छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा १ हजार ८५ जना निर्वाचन प्रहरीको माग गरिएकोमा १ हजार १८ जनाको मात्रै निवेदन परेको थियो ।

निवेदन परेका सबै छनौट हुँदा पनि ६७ जना अपुग भएको छ । निवेदन दिएका कतिपय सम्पर्कमा नआएका कारण १ सयभन्दा बढीको संख्या अपुग भएपछि पुनः म्याद थप गरिएको एसपी थापाले जानकारी दिए ।

धनकुटामा कुल १ सय १९ मतदान स्थलमा १ सय ६६ मतदान केन्द्र रहने छन् । यस्तै जिल्ला कारागार र निर्वाचनमा नखटिएका कर्मचारीका लागि २ वटा अस्थायी मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधि सभा सदस्यका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा १ लाख  १८ हजार ४ सय २५ मतदाता छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!