संगालोखबर


झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा एमालेले बिजय हासिल गर्ने बताएका छन् । आज झापाको कमल गाउँपालिकाका  कार्यकर्ताहरूसँगको भेटमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले यहाँको विकास, रूपान्तरण र जनआधारका कारण सिंगो क्षेत्र नै एमालेको पक्षमा एक ढिक्का रहेको उल्लेख गरे । काँग्रेस थिग्रिन नसकेको र पूर्वमाओवादीका धेरै मतदाताहरू पनि एमालेमै भोट हाल्ने मनस्थितिमा रहेको उल्लेख गर्दै उनले कुल खसेको मतको दुई तिहाइ भन्दा बढि मत एमालेले ल्याउने दाबी गरे ।

त्यस क्रममा अध्यक्ष ओलीले अहिले राजनीतिलाई अपराधिकरण हुनबाट जोगाउने बेला आएको बताए । गत भदौमा भएको जेनजी आन्दोलनमा राजनीतिक कार्यभन्दा बढि आपराधिक कार्यहरू भएको उल्लेख गर्दै उनले त्यसबेला केही व्यक्तिको आन्दोलनका क्रममा मृत्यु भएको भए पनि धेरै जसोको आपराधिक कार्य गर्दा मृत्यु भएको उल्लेख गरे ।

‘हामीले भने अनुसार चल्नुपर्छ भन्ने पनि आउलान्’, अध्यक्ष ओलीले भने, ‘त्यस्तो दबाबलाई स्विकार्ने कुरा आउँदैन ।’ अस्थिरताको खेती गर्नेहरूले यि सबै काम गरेको भन्दै उनले त्यस्ताबाट देशलाई जोगाउनु पर्ने बताए ।

‘त्यो त आपराधिक घट्ना हो नि । नगरपालिका किन जलाएको, बिजनेस कम्प्लेक्स किन जलाएको ?’ उनले भने, ‘दमक नमूना सहरको रूपमा विकास भई रहेको छ । त्यो भवनलाई  भ्यु टावर नभएर आईटी हबको रूपमा विकास गर्न सकिन्थ्यो नि, यसरी देश जलाएर, जनता आतङ्कित पारेर पनि हुन्छ ?’

दमक, कमल, गौरादह, गौरीगञ्ज लगायतका क्षेत्रमा भएका विकास र प्रगति सबैका आँखाअघि छर्लङ्ग रहेको भन्दै उनले यो देश र यो क्षेत्रका लागि कुनै योगदान नगरेका व्यक्तिहरूबाट केही नहुने बताए ।

उनले यस क्षेत्रको नदीकटान नियन्त्रण, बाँध निर्माण, पुल तथा सडक निर्माण, विद्यालय भवन, विद्युतीकरण, खानेपानी, स्वास्थ्य लगायत हरेक क्षेत्रमा भएको विकासबारे बुझ्न पनि उनले आग्रह गरे । अध्यक्ष ओलीले यस क्षेत्रका मतदाता र कार्यकर्ताहरूसँग अलग-अलग भेट गरिरहेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!