
धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा धनकुटाका राजनीतिक दलहरूलाई आचारसंहिता पालना गर्न आग्रह गरिएको छ । सामुदायिक भवनमा स्थापना गरिएको मुख्य निर्वाचन कार्यालयमा आज भएको सर्वदलीय छलफलमा उक्त आग्रह गरिएको हो ।
दलहरूले आमसभामा १० वटा झण्डा, १ वटा तुल, प्रचारका लागि २ वटा गाडी र ४ वटा घोडाको प्रयोग गर्न सक्ने धनकुटाका मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले बताए ।
‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने हुन्छ’, उनले भने, ‘अटेर गरेको अवस्थामा कानून बमोजिम कारबाही हुन्छ ।’ बैठकमा चुनावी प्रचार-प्रसार, खर्चको सीमा, सवारी साधन सञ्चालन, सामाजिक सञ्जालको प्रयोग लगायतका विषयमा जानकारी गराइएको थियो ।
छलफलमा निर्वाचन आचारसंहिता प्रस्तुत गर्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले उम्मेदवारको आर्थिक पारदर्शिता, प्रसार-प्रसारको समय, झण्डा र चुनाव चिन्हको आकार लगायतका विषयमा जानकारी गराएका थिए ।
उनले उम्मेदवारी मनोनयन दर्ता गर्न आउँदा दलहरूले अधिकतम २५ जनाको संख्यामा आउन आग्रह गरे । आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारलाई घटनाको प्रकृति हेरेर १ लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी खारेजीसम्मको सजाय हुने प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।
यस्तै निर्वाचनलाई शान्तिपूर्ण र भय रहित वातावरणमा सम्पन्न गर्न आचारसंहिता पालनामा आफूहरू प्रतिबद्ध रहेको राजनीतिक दलका प्रतिनिधिहरूले प्रतिवद्धता जनाएका छन् ।
छलफलमा नेकपा एमाले, नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृती, मंगोल नेशनल अर्गनाइजेशन, नेकपा माओवादी लगायत दलका प्रमुख तथा प्रतिनिधिहरू सहभागि थिए ।

सन्तोष सुवेदी/संगालोखबर 













