सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाका विभिन्न धार्मिक तथा तीर्थस्थलहरूमा माघे सङ्क्रान्ति मेला लागेको छ । फलामेटारको कौशिका धाम, भीरगाउँको मधुगङ्गा र बाघेखोलाको धर्मगंगा लगायतका तीर्थस्थलमा मेला लागेको हो ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिकाका सीमाबाट बग्ने तेलिया खोला, चौबिसे र साँगुरीगढी सीमाबाट बग्ने छरुवा खोला तथा तमोर नदीको संगममा पर्ने कौशीका धाममा माघे सङ्क्रान्ति मेला लागेको छ ।

यस तीर्थस्थलमा पवित्र जलमा स्नान गर्दा छाला लागयतका रोगबाट मुक्त हुने जनविश्वास छ । यस्तै त्रिवेणीमा नुहाएर हंसमोरङमा रहेको शिवालयमा दर्शन गरे रोगव्याधबाट मुक्ति, सुखशान्ति, समृद्धिका साथै मनोकाङ्क्षा पुरा हुने विश्वास रहेको स्थानीय महेन्द्र न्यौपानेले बताए ।

उनले धार्मिक आस्थासँग जोडिएको हुनाले विश्वासका साथ विभिन्न ठाउँबाट श्रद्धालु भक्तजनहरू आउने गरेको बताए । यस्तै माघ १ गते धनकुटा नगरापालिका-२ स्थित भीरगाउँमा रहेको मधुगंगा, धनकुटा-६ स्थित बाघेखोलामा रहेको धर्मगंगा धाममा मकर नुहाउन बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो ।

यस धार्मिक स्थलमा मकर नुहाउँदा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको श्रद्धालु भक्तजन बताउँछन् । मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास रही आएको छ । हिन्दु धर्ममा विश्वास राख्नेहरूको बिहानैदेखि मधुगंगामा भीड लागेको थियो ।

मधुगंगा धाम धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । मधुगंगामा माघे सङ्क्रान्तिसँगै मंसिरे पूर्णिमा, साउन महिना र स्वस्थानी व्रत सुरु भएसँगै मेला  लाग्ने गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!