संगालोखबर


विराटनगर । विकल्प एन अल्टरनेटिभले तराई क्षेत्रमा सञ्चालन हुने ई–रिक्सा (सिटी सफारी) सम्बन्धी अनुसन्धान पत्र सार्वजनिक गरेको छ । आज विराटनगरमा कार्यक्रम गर्दै विकल्पले सिटी सफारी चालक अनुमतिपत्र प्राप्त गर्ने प्रक्रिया, सिटी सफारीसँग जोडिएको जीविकोपार्जन सम्बन्धी विषय समेटिएको अनुसन्धान पत्र सार्वजनिक गरेको हो ।

अनुसन्धान पत्र सार्वजनिक गर्दै विकल्पका अनुसन्धानकर्ता समिर क्षेत्रीले नेपालको तराई क्षेत्रमा झन्डै २ लाख भन्दा बढी सिटी सफारी सञ्चालनमा रहेको बताए । तर अधिकांश सिटी सफारी चालकहरूले निम्न शैक्षिक अवस्थाका कारण सवारी अनुमति पत्र प्राप्त गर्न कठिन भएको उल्लेख गरे ।

उनले कोशी प्रदेश सरकारले सिटी सफारी लाइसेन्स परीक्षामा लिखित परीक्षालाई हटाएर मौखिक तथा ट्राफिक नियम प्रशिक्षणको व्यवस्था गरेकोले अब लाइसेन्स प्रक्रिया सहज भएको बताए ।

कार्यक्रममा प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलाई सिटी सफारीका लागि लाइसेन्स प्रक्रिया सहज बनाउनेदेखि आवश्यक कानून निर्माण र संशोधनमा पहलकदमी गरेको प्रति सम्मान गरिएको छ ।

सम्मान ग्रहण गर्दै भण्डारीले कोशी प्रदेशमा सिटी सफारी सञ्चालन गर्ने र सोको कमाइमा आश्रित जनसङ्ख्या ठूलो रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा ठोस कानुनी सुधार गर्न सफल भएकोमा आफैँलाई समेत गर्वको अनुभूति हुने बताए ।

उनले कोशी प्रदेशले सिटी सफारीका लागि गरेको कानून सुधारको अभ्यासको अध्ययन गर्न अन्य प्रदेशबाट समेत आउन थालिसकेको बताउँदै आफू पदमा नरहँदा समेत थप सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतमले ट्राफिक व्यवस्थापन, सवारी नियमको पालना लगायतका कामलाई थप प्रभावकारी बनाउँदै लैजान प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले विकल्पले सार्वजनिक गरेको अनुसन्धानलाई प्रदेश सरकारले ग्रहण गर्दै सरोकारवालाहरूको सहकार्यमा आगामी दिनमा काम गर्ने उल्लेख गरे ।

त्यस्तै कार्यक्रममा विकल्पद्वारा आयोजित ‘नेपाली समाजमा सिटी रिक्साको भूमिका’ विषयक भिडियो प्रतियोगिताका विजयीहरूलाई नगदसहित सम्मान गरिएको छ । भिडियो प्रतियोगितामा प्रथम हुने संगम पौडेललाई २५ हजार, द्वितीय सत्य राजवंशीलाई १८ हजार, तृतीय सीताराम कोइरालालाई १० हजार र चौथो हुने अनिष हमाललाई ७ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।

विकल्पका संस्थापक एवम् कार्यकारी निर्देशक वसन्त अधिकारीले विकल्पले स्थापनादेखि नेपालीहरूले देशभित्रै काम गरेर खान पाउनुपर्ने माग राख्दै जीविकोपार्जन सम्बन्धी कार्यक्रम गर्दै आएको बताए । उनले पछिल्लो समय सिटी सफारीसँग ठूलो जनसङ्ख्याको आर्जनको विषय जोडिएकोले सो विषयमा काम गर्दै आइरहेको उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!