
विराटनगर । विराटनगरको विराट नर्सिङ होममा अत्याधुनिक क्याथ ल्याब सेवा सञ्चालनमा ल्याइएको छ । कार्डियाक, न्युरो तथा भास्कुलर इन्टरभेन्स्नल सम्बन्धी जटिल रोगहरूको उपचारलाई छिटो, सुरक्षित र सहज बनाउने उद्देश्यले क्याथ ल्याब सेवा सञ्चालनमा ल्याइएको हो ।
हृदयघात तथा स्ट्रोकजस्ता आपतकालीन अवस्थाहरूमा समयमै उपचार नपाउँदा ज्यान जाने जोखिमलाई मध्यनजर गर्दै सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ । यसबाट विराटनगरसहित नेपाल-भारत सीमावर्ती क्षेत्रका नागरिक लाभान्वित हुने अस्पतालका प्रमुख कार्यकारी अधिकृत निकिता कार्कीले बताए ।

विराटमा जडान गरिएको प्रिमियर एलिट क्याथ ल्याब अत्याधुनिक प्रविधिमा आधारित रहेको तथा कम विकिरणका साथ छिटो र सुरक्षित उपचार प्रदान गर्ने अस्पतालले जनाएको छ ।
उद्घाटनका अवसरमा १९ जना बिरामीलाई क्याथ ल्याब सेवाअन्तर्गत पर्ने सम्पूर्ण प्रक्रिया निःशुल्क रूपमा उपलब्ध गराइएको तथा सीसीयू शुल्क तथा निदान सेवामा पनि ५० प्रतिशत छुट दिइएको अस्पतालले जनाएको छ ।

संगालोखबर 
















