
धनकुटा । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले प्रमुख पर्यटकीय गन्तव्य भेडेटारको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने बताएका छन् । १३ औं फुड फेस्टिभल अर्थात खाना महोत्सवको उद्घाटन समारोहमा बोल्दै मन्त्री मण्डलले कोशी सरकारले भरपुर सहयोग गर्ने बताएका हुन् ।
भेडेटारको प्रवेशद्वारमा धनकुटाका पर्यटकीय स्थलहरूको होडिङ बोर्ड राख्न समेत सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । उनले पर्यटन प्रवर्द्धन गर्न केही बजेट छुट्याएर काम अगाडि बढाउने उल्लेख गरे ।
भेडेटारका होटल तथा पसलहरूलाई रात्रिकालीन संचालनका लागि सम्बन्धित निकायसँगै सरोकारवालाहरूसँग छलफल र पहल गरेर थप पर्यटकहरू भित्र्याउन लागि पर्नुपर्नेमा उनले जोड दिए ।
होटल एसोसिएसन अफ भेडेटारले अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरेको फेस्टिभल पुस १८ गतेसम्म संचालन हुनेछ । भेडेटारमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको महोत्सव आयोजक समितिका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए ।
ओझेलमा परेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलहरू तथा पर्यटकीय गन्तव्यहरूको प्रचारमा फेस्टिभलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
भारतीय पर्यटकलाई भेडेटारमा आकर्षित गर्न फेस्टिभलले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ । फेस्टिभलमा विभिन्न खानाका परिकार तथा स्थानीय उत्पादनहरूको स्टल राखिएको छ ।
फेस्टिभलमा माउन्टेन बाइक तथा तमोर नदीमा र्याफ्टिङको मज्जा लिन पाइने भएको छ । यस्तै आगन्तुकका लागि भेडेटार आसपासका १० वटा पर्यटकीय स्थलमा घुम्ने व्यवस्था मिलाइएको छ । समुन्द्री सतहदेखि १ हजार ४ सय २० देखि १ हजार ७ सय ५ मिटर उचाइमा रहेको भेडेटार गर्मी छल्ने उपयुक्त गन्तव्य हो ।

सन्तोष सुवेदी/संगालोखबर 
















