
विराटनगर । विराटनगर महानगरपालिकाले सहकारीका लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरूलाई लेखा प्रणालीसम्बन्धी तालिम दिएको छ ।सहकारीको लेखा प्रणालीलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यले महानगर क्षेत्रभित्र रहेका सहकारीका पदाधिकारीहरूलाई एकदिने तालिम दिइएको हो ।
महानगरका मेयर नागेश कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । सहकारीलाई विधि विधानअनुसार सञ्चालन गर्न यस्ता तालिम उपलब्धिमूलक हुने मेयर कोइरालाको भनाइ थियो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले सहकारीसम्बन्धी ऐन कानुनसहित लेखासम्बन्धी तालिम दिँदा सहकारीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने बताए ।
वडा नम्बर १९ का वडाध्यक्षसमेत रहेका आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले सहकारीलाई व्यवस्थित र मर्यादित बनाउन महानगरले विगतदेखि नै तालिम सञ्चालन गर्दै आएको जानकारी दिए ।
उनले विगतमा सहकारीप्रतिको धारणा नकारात्मक रहेको उल्लेख गर्दै बचतकर्ता र ऋणीको विश्वास जित्नेगरी काम गर्नुपर्नेमा जोड दिए । तालिममा लेखा सुपरीवेक्षण समितिको काम, कर्तव्य र अधिकार, सहकारीको वित्तीय स्रोत परिचालन तथा कोष व्यवस्थापन, लेखा समितिको भूमिका, त्रैमासिक र वार्षिक प्रतिवेदन प्रणालीलगायतका विषयमा प्रशिक्षण दिइएको सहकारी शाखाकी प्रमुख चाँदनी राईले जानकारी दिइन् ।
तालिममा सहभागीहरूलाई सहकारी विज्ञ नवीन मैनालीले सहजीकरण गरेका थिए । तालिममा ३५ वटा सहकारीका लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरू सहभागी थिए । महानगरको क्षेत्राधिकारभित्र १ सय ७२ वटा सहकारी सञ्चालनमा छन् । अन्य सहकारीका पदाधिकारीहरूलाई पनि क्रमैसँग तालिम दिइने महानगरले जनाएको छ ।

संगालोखबर 













