
विराटनगर । विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि एभरेष्ट माध्यमिक विद्यालयले जितेको छ । आज सहिद रंगशालामा सम्पन्न भएको प्रतियोगितामा ११ स्वर्ण, ९ रजत र ११ कास्यसहित एभरेष्टले ३१ पदकका साथ उपाधि जितेको हो ।
विराटनगर महानगरपालिकाको आयोजना र एभरेष्ट विद्यालयको संयोजनमा सम्पन्न प्रतियोगिता ८ स्वर्ण, ११ रजत र ७ कास्य सहित २६ पदकका साथ आदर्श माध्यमिक विद्यालय द्वितीय भयो । त्यस्तै ८ स्वर्ण ७ रजत र ७ कास्यसहित २२ पदकका साथ सत्यनारायण माध्यमिक विद्यालय तृतीय भयो ।
विजयी खेलाडी तथा विद्यालयहरूलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, एभरेष्ट विद्यालयका प्रिन्सिपल टिकाराम पुरी र महानगरका शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।
पुस ९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा विराटनगर महानगरपालिका भित्रका ६५ वटा विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थी सहभागि भएका थिए ।
प्रतियोगितामा छात्रतर्फ ६६ र छात्रातर्फ ६६ गरेर १३२ पदकका लागि भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्टलगायतका खेलहरूमा प्रतिस्पर्धा भएको थियो ।

संगालोखबर 













