
धनुकटा । नेपाली सेनाले राष्ट्रिय एकता दिवस तथा ३०४ औं पृथ्वी जयन्तीको अवसरमा दौड प्रतियोगिता र पदयात्रा गर्ने भएको छ । सेनाले सुनसरीको विजयपुरगढी देखी धनकुटाको साँगरीगढीसम्म दौड प्रतियोगिता तथा पदयात्रा गर्ने तयारी गरेको हो ।
सेनाले पुष २७ देखि ३० गतेसम्म सुनसरीको ऐतिहासिक स्थल विजयपुरगढी देखि धरानको फुस्रे हुँदै धनकुटाको साँगुरीगढी, बेलहरा उत्तरपानी हुँदै पाख्रीबाससम्म पदयात्रा गर्न लागेको छ ।
धनकुटाको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षण गर्दै प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको भीमदल गण सल्लेरी धनकुटाका गणपति गणेश थापाले जानकारी दिए । उनका अनुसार पदयात्रासँगै दौड प्रतियोगिता समेत गर्न लागिएको हो ।
यस्तै खुल्ला महिला/पुरुषतर्फ १० किलोमिटर र १६ वर्ष उमेर समूहका विद्यार्थीहरूका लागि ५ किलोमिटर दौड प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा खुल्ला पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: २५, १५ र १० हजार नगद प्रदानन गरिने जनाइएको छ ।
यसैगरी ५ किलोमिटर विद्यार्थी महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: १२, ८, र ५ हजार रुपैयाँ पुरस्कार दिइने सेनाले जनाएको छ ।
नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर इटहरी, २ नम्बर बाहिनी हिलेको संयोजनमा धनकुटाको भीमदल गण सल्लेरी तथा सुनसरीस्थित भगवती दल गणले कार्यक्रम गर्न लागेको हो ।
धरान उपमहानगरपालिका, धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका, साँगुरीगढी गाउँपालिका, होटल एसोसिएसन भेडेटार, उद्योग वाणिज्य संघ सुनसरी र स्काई वाक भेडेटारको सहयोगमा कार्यक्रम हुनेछ ।

सन्तोष सुवेदी/संगालोखबर 













