
धनकुटा । धनकुटाका दुई बिरामीलाई उपचारका लागि आर्थिक सहयोग र अनाथ बालबालिकालाई शैक्षिक सामग्रीसहित खाद्यान्न वितरण गरिएको छ । धनकुटा जिल्ला बक्सिङ्ग संघले मृगौला पीडित र ब्लड क्यान्सर पीडित दुई जना बिरामीलाई आर्थिक सहयोग गरेको हो ।
यस्तै अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्रीसहित खाद्यान्न सामग्री वितरण गरिएको संघले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । दुई जना बिरामीलाई १ लाख ४८ हजार चार सय ७० रुपैयाँ र अनाथ बालबालिकाहरूलाई २२ हजार बराबरको शैक्षिक सामग्रीसहित खाद्यान्न वितरण गरिएको संघले जनाएको छ ।
संघले धनकुटा नगरपालिका-८ सान्ताङका मृगौला पीडित चौतिसलाल आठपहरिया र चौबिसे गाउँपालिका-७ मौनाबुधुकका ब्लड क्यान्सर पीडित जितेन चेम्जोङलाई आर्थिक सहयोग गरेको हो ।
आठपहरियालाई १ लाख १८ हजार चार सय ७० रुपैयाँ र कलाकार तथा मूर्तिकार समेत रहेका चेम्जोङलाई ३० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको संघका कार्यवहाक अध्यक्ष हेमचन्द्र राईले जानकारी दिए ।
संघले मंसिर २५ देखी पुष ५ गतेसम्म धनकुटामा निर्माणधीन कबडहलका लागि आवश्यक सामाग्री खरिद तथा विभिन्न रोगबाट पीडित बिरामी र अनाथ बालबालिकाको उपचार तथा संरक्षणका गर्ने उद्देश्यले बसपार्कमा कल्चरल म्युजिकल तथा सांस्कृतिक कार्यक्रम गरेको थियो । सोही कार्यक्रम र अन्य सहयोगी दाताहरूबाट संकलन भएको रकमबाट सहयोग गरिएको उनले बताए ।
मृगौला पीडित आठपहरिया हाल जिल्ला अस्पताल धनकुटामा डाइलासिस गराउँदै आएका छन् । चेम्जोङ हाल काठमाडौं स्थित ओम अस्पतालमा उपचाररत छन् । संघले धनकुटा नगरपालिका-४ स्थित श्रीपञ्चमी पार्कस्थित वाल पुनस्थापना केन्द्रका अनाथ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेको जनाएको छ ।
अनाथालयमा रहेका १५ जना बालबालिकाहरूलाई शैक्षिक सामाग्री र खाद्यान्न वितरण गरिएको संघका सचिव रोशन राईले जानकारी दिए । बालबालिकाहरूलाई पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको उनले बताए । त्यस्तै धनकुटा बसपार्कमा सिसी क्यामेरा जडान गर्न ४५ हजार र खेल सामाग्रीका लागि १८ हजार रुपैयाँ आर्थिक सहयोग गरेको उनले बताए ।

सन्तोष सुवेदी/संगालोखबर 













