
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-४ मा पहिचान झल्कने पार्क निर्माण गरिएको छ । पाख्रीबासको पहिचान झल्काउने उद्देश्यले पाख्री पार्क निर्माण गरिएको हो ।
पार्कमा पाख्रीको बिरुवा, ढाकर, ढाक्रे, चुल्हो लगायतका संरचना निर्माण गरिएको छ । पार्क निर्माणका लागि नगरपालिकाले ६ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

पार्कले पाख्रीबासको पहिचान झल्काउनका साथै पर्यटन प्रर्वद्धनका लागि सहयोग पुर्याउने विश्वास लिइएको छ । पाख्रीबास युथ युनाइटेडको अगुवाइमा करिब १५ लाख रुपैयाँ लागतमा पार्क निर्माण भएको हो ।

पाख्रीबासमा पाख्रीको रूख रहेको थियो । कुनै समय धरानदेखि ढाकरमा भारी बोकेर आउने ढाक्रे र भरिया पाख्रीको रुखको फेदमा बास बस्ने गर्दथे । सोही इतिहास र प्रचलनकै आधारमा पाख्रीबास नाम रहेको स्थानीयको भनाइ छ । विकास निर्माणसँगै बजार विस्तार भएपछि उक्त रूख काटियो ।
हाल सोही स्थानमा पार्क निर्माण गरिएको छ । पार्कमा सांस्कृतिक प्रतीकहरू समेत समावेश गरिएको छ । पार्क निर्माणका लागि नगरपालिकासँगै देश तथा विदेशबाट सहयोग रकम जुटेको थियो ।


तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

सन्तोष सुवेदी/संगालोखबर 













