
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका-३ साँघु लेकुवामा भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ । बन्दुक पड्किँदा स्थानीय २६ वर्षीय फुर्वा रेन्जी शेर्पाको मृत्यु भएको हो ।
उनलाई तिलोकसिंह लिम्बुको अलैँची बारीमा मृत अवस्थामा फेला पारिएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी वेद प्रसाद गौतमले जानकारी दिए ।
प्रहरीका अनुसार बारुद भर्ने क्रममा भरुवा बन्दुक अचानक पड्किएर लागेको उनका भतिज १८ वर्षीय सोनम शेर्पाले बताएका छन् । उनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
भरुवा बन्दुकमा बारुद भर्दै गरेको अवस्थामा अचानक पड्किएर घाँटीमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘आइतबार बिहानको राति २ बजेतिरको घटना हो । बारुद भर्ने क्रममा पड्किएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, डीएसपी गौतमले संगालोखबरसँग भने, ‘अनुसन्धानपछि बाँकी कुरा खुल्छ ।’
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइँदै गरिएको बताउँदै उनले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिसकिएको जानकारी दिए ।

संगालोखबर 













