
धनकुटा । नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियारले किसानले भोग्नु परेका समस्या समाधानका लागि गम्भीर रहेको बताएका छन् । धनकुटाको महालक्ष्मी नगरपालिका स्थित घुमाउनेमा प्रगतिशील कृषि तथा पशुपालन कृषक समूहको अनुगमनका लागि धनकुटा आएका मन्त्री परियारले यस्तो बताएका हुन् ।
उनले किसानका समस्या समाधान नभएसम्म देशको समृद्धि सम्भव नहुने बताए । उनले अहिलेको सरकार किसानमैत्री रहेकाले कृषकका समस्या समाधानका लागि आफूहरू तत्पर रहेको उल्लेख गरे ।
जेनजी आन्दोलनबाट बनेको वर्तमान सरकार सरकारले अपेक्षा अनुसार काम गर्ने उनको भनाइ थियो । आर्थिक करिडोर कार्यालयले मध्यपहाडी राजमार्ग केन्द्रीत कृषि र पशुपालनमा वितरण गरेको अनुदानको अनुगमनका क्रममा आएका मन्त्री परियारले जनताको मुखबाटै गुनासो सुन्न र आफ्नै आँखाले देख्न घरदैलोमा आएको बताए ।
उनले जनतालाई बढिभन्दा बढी सहुलियत दिने प्रतिवद्धता समेत व्यक्त गरे । किसानलाई आवश्यक पर्ने मल, बीउ समयमै उपलब्ध गराउने र बजार व्यवस्थापनको काम भइरहेको उनको भनाइ थियो ।
मध्यपहाडी राजमार्ग निर्माण भएपछि पहाडी क्षेत्रका किसानहरूलाई राहत मिलेपनि अन्य सेवा सुविधाहरू किसानसम्म पुग्न नसकेका कारण समस्या देखिएको उनले बताए । मन्त्री परियारले काठमाडौं फर्किने बित्तिकै केही नीतिगत कार्यहरू गर्ने उल्लेख गरे ।
दुग्ध विकास संस्थानबाट किसानले दूधको मूल्य भुक्तानी नपाएको विषयमा सरकारले चासोका साथ लिएर समाधानको लागि पहल गरिरहेको उनले किसानलाई जानकारी दिए ।
विश्व बैंकको सहयोगमा नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहत रहेको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर कार्यालयले सञ्चालन गरेको कार्यक्रममार्फत प्रगतिशील कृषि तथा पशुपालन कृषक समूहका १८ परिवार लाभान्वित छन् ।
कार्यक्रममा किसानहरूले समयमा मलखाद नपाउने, सिँचाइको प्रबन्ध नभएको, बजार व्यवस्थापन हुन नसकेको, उत्पादनका लागि कृषि बैंकबाट ऋण सुविधा सहज रूपमा नपाएको गुनासो गरेका थिए । यस्ता प्रकारका समस्या समाधानका लागि कृषकहरूले मन्त्री परियारलाई आग्रह गरेका थिए ।

सन्तोष सुवेदी/संगालोखबर 













