
विराटनगर । उदयपुरमा दाजुले धारिलो हतियार खुकुरी प्रहार गरेर भाइको हत्या गरेका छन् । त्रियुगा नगरपालिका-१ जोगीदहका ४३ वर्षीय युवराज राईले ३० वर्षीय भाइ धर्मराजको हत्या गरेका हुन् ।
उदयपुर प्रहरीका अनुसार आज बिहानको राति करिब २ बजे युवराजले धर्मराजमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका धर्मराजलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।
उनको उपचारका क्रममा बिहान करिब २ः५० बजे मृत्यु भएको उदयपुरका प्रहरी प्रवक्ता डीएसपी केदारमान दोङले जानकारी दिए । खुकुरी प्रहारपछि युवराज फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
‘दाजुले आमालाई कुटपिट गरेका कारण दाजु–भाइबीचमा विवाद भएको खुलेको छ’, डीएसपी दोङले संगालोखबरसँग भने, ‘आमालाई कुटपिट गरेपछि प्रहरीमा पनि खबर आएको थियो । शुक्रबार साँझ नै उनलाई पक्राउ गर्न खोजिएपनि उनी फरार भएका थिए ।’
रातिको समयमा पुनः घर आएर भाइको हत्या गरेको खुलेको उनले बताए । कुटपिटबाट घाइते आमाको जिल्ला अस्पतालमा उपचार भएर डिस्चार्ज भइसकेको डीएसपी दोङले जानकारी दिए ।

संगालोखबर 













