
धनकुटा । नेपाल नेत्रज्योति संघ धनकुटाद्वारा संचालित डा. रामप्रसाद पोखरेल आँखा अस्पतालले विराटनगर आँखा अस्पताललाई सम्मान गरेको छ । संघको पन्ध्रौ वार्षिक साधारण सभा तथा अस्पतालको बाह्रौं वार्षिकोत्सवको असरमा सोमबार सम्मान गरिएको हो ।
धनकुटा नगरपालिका-६ सल्लेरीमा रहेको रामप्रसाद आँखा अस्पतालको सेवा गुणस्तर वृद्धिका लागि सहयोग पुर्याएको भन्दै विराटनगर आँखा अस्पताललाई सम्मान गरिएको हो ।
विराटनगर आँखा अस्पतालका अध्यक्ष एवं नेपाल नेत्रज्योति संघका सदस्य पदमनारायण चौधरीलाई सम्मान पत्र प्रदान गरिएको छ । पूर्वी पहाडी जिल्लामा सेवा पुर्याउने उद्देश्यले धनकुटामा २०७० सालमा आँखा अस्पताल सञ्चालनमा ल्याइएको थियो ।
अस्पतालले दैनिक ५० देखी ७० जनालाई सेवा प्रवाह गर्दै आएको छ । वार्षिक १५ हजार बिरामीको आँखा परीक्षण र एक हजार जनाको शल्यक्रिया गर्ने लक्ष्य रहेको अस्पतालले जनाएको छ ।
अस्पतालले जिल्लामा रहेको सातवटै पालिकासँग समन्वय गरी आँखा परीक्षण शिविर संचालन गर्दै आएको छ । यस्तै ज्येष्ठ नागरिकहरूका लागि ५० प्रतिशत छुट दिँदै आएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 













