संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालय धनकुटा अस्पताल हस्तान्तरणको पर्खाइमा छ । विश्वविद्यालयले अस्पताल हस्तान्तरण भएको खण्डमा चाँडै मेडिकलतर्फ बिएससी नर्सिङ कक्षा सञ्चालन गर्ने तयारी थालेको छ ।

चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार बिएससी नर्सिङ विषयको पाठ्यक्रम तयार भइसकेकाले कोशी प्रदेश सरकारको प्रतिबद्धता अनुसार चाँडो धनकुटा जिल्ला अस्पताल हस्तान्तरण भए मनमोहनले आगामी शैक्षिक सत्रदेखि नै बिएससी नर्सिङ कक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

Advertisement

विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलका अनुसार कोशी प्रदेश सरकारले गत जेठमै निर्णय गरेर धनकुटा अस्पताललाई शिक्षण अस्पताल बनाउनका लागि मनमोहनलाई हस्तान्तरण गर्न प्रक्रिया थालिसकेको छ । सम्झौता गरेर टुंगो लाग्ने बित्तिकै आगामी शैक्षिक सत्रबाट बिएससी नर्सिङ कक्षा सञ्चालन हुने पोखरेलले बताए ।

कोशी सरकारले २०७६ सालमा स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालयले शिक्षण अस्पताल प्राप्त नगर्दा अझै मेडिकलतर्फ कार्यक्रमहरू सञ्चालनमा आउन सकेका छैनन् । स्वास्थ्य प्राविधिक कार्यक्रमहरूका लागि पाठ्यक्रम निर्माण भइसकेपनि अस्पताल प्राप्त नहुँदा विश्वविद्यालय सरकारको अन्तिम सम्झौताको निर्णय पर्खेर बसेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!