
धनकुटा । धनकुटा नगरपालिका-८ सान्ताङ स्थित लेक्सेरे टोलका ४९ वर्षीय चौतिशलाल आठपहरियाले आफ्नो उपचारका लागि सहयोगको अपिल गरेका छन् । लामो समयदेखि मृगौला रोगबाट पीडित आठपहरियाले उपचारका लागि खर्च अभाव भएको भन्दै सहयोगको अपिल गरेका हुन् ।
आठपहरिया करिब दश महिनादेखि मृगौला रोगबाट पीडित छन् । उपचारका लागि विभिन्न अस्पताल धाइसकेको उल्लेख गर्दै उनले हालसम्म करिब १६ लाख खर्च भइसकेको बताए ।
आर्थिक अवस्था कमजोर हुँदा थप उपचारका लागि समस्या भएको उनको भनाइ छ । ‘आर्थिक अभावका कारण थप उपचारमा समस्या भएको छ’, उनले भने, ‘उपचारका लागि आर्थिक सहयोगको अपिल गर्दछु ।’
उनी हाल जिल्ला अस्पताल धनकुटामा मृगौलाको डाइलासिस गराउँदै आएका छन् । यस अगाडि उनले विराटनगर स्थित विराट टिचिङ अस्पताल, धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा र काठमाडौंस्थित केएमसी अस्पतालमा उपचार गराएका थिए । आठपहरिया सोही वडाका वडा सदस्य समेत हुन् ।
धनकुटा नगरपालिका-८ का वडाअध्यक्ष रसबहादुर आठपहरियाका अनुसार उनले अहिले धनकुटा अस्पतालबाट महिनामा ८ पटक डाइलाइसिस गराउँदै आएका छन् । एक पटक डाइलाइसिस गर्दा दुई हजार पाँच सय खर्च लाग्ने गरेको उनको भनाइ छ ।
मासिक २० हजारभन्दा बढी उपचारमा खर्च लाग्ने भएकाले आर्थिक सहयोगको अपिल गरिएका वडाध्यक्ष आठपहरियाले बताए । इच्छुकले माछापुच्छ्रे बैंकको खाता नम्बर ०२००९५४८९६९०००१५ मार्फत पनि सहयोग गर्न सक्ने उनले बताए ।

सन्तोष सुवेदी/संगालोखबर 













