
विराटनगर । उदयपुर र तेह्रथुममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका-४ थुलुङडाँडामा २ वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बर्खेडाँडाबाट बसाहाथानतर्फ जाने भित्री पक्की सडक खण्डमा बसाहाथानबाट बर्खेडाँडा जाँदै गरेको बा ९२ प ०८९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०५-००२ प ०५८९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
प्रहरीका अनुसार दुर्घटनामा ०५८९ नम्बरको मोटरसाइकल चालक चौदण्डीगढी-४ का अन्दाजी ५८ वर्षीय भक्तराम राईको मृत्यु भएको हो । प्रहरीले ०८९७ नम्बरको मोटरसाइकल चालक चौदण्डीगढी-४ बसाहाथानका अन्दाजी २६ वर्षीय एमन मगरलाई नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
तेह्रथुमको म्याङलुङ नगरपालिका-४ पिप्लेस्थित सल्लेरी भिरबाट प्रदेश १-०२-०३ त ३००० नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक म्याङलुङ-१० का १७ वर्षीय शेरबहादुर पुर्कुटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
म्याङलुङ-१ स्थित निर्माणाधीन जिल्ला अस्पतालअगाडिको काम सकेर सोमबार फर्किएको ट्याक्टर नदेखिएपछि सहायक सुपरभाइजर हरिकुमार राईले जिल्ला प्रहरी कार्यालय तेह्रथुम खबर गरेका थिए । खोजी गर्ने क्रममा ट्याक्टर दुर्घटना भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













