
विराटनगर । भोजपुरको अरुण गाउँपालिका-५ याकुका ३८ वर्षीय सुवास राईको उपचारका लागि सहयोगको अपिल गरिएको छ । आकस्मिक दुर्घटनामा परेर टाउकोमा गम्भिर चोट लागेका राईको उपचारमा ठूलो रकम खर्च हुने भएपछि परिवारले आर्थिक सहयोगको अपिल गरेको हो ।
राई गत कात्तिक २७ गते काम गर्ने क्रममा आकस्मिक दुर्घटनामा परेका थिए । हाल उनको आर्या न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनको शल्यक्रिया तथा औषधी उपचारका लागि न्यूनतम ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । अरुण गाउँपालिका वडा नम्बर ५ ले राईको उपचारका लागि आर्थिक सङ्कलनमा सहयोग गरिदिन आग्रह गरेको छ ।
‘शल्यक्रिया र औषधी उपचारका लागि न्यूनतम ४० लाख खर्च आवश्यक भएको साथै खर्च अनुसारको उपचार भुक्तानी गर्न परिवारको आर्थिक अवस्था कमजोर तथा जुटाउन असमर्थ भएको भनी निजको श्रीमतीले आर्थिक सहयोग तथा सङ्कलनको लागि सिफारिस माग गरेको हुँदा उपचारार्थ आर्थिक सङ्कलनका लागि सहयोग गरिदिनुहुन सिफारिसका साथ अनुरोध गरिन्छ’, वडाध्यक्ष युवराज ढकालद्वारा हस्ताक्षर गरिएको सिफारिसमा भनिएको छ ।
यस्तै मंसिर १२ गते वडाध्यक्ष ढकाल, समाजसेवी, बुद्धिजीवी, विभिन्न कार्यालयका कर्मचारी तथा आफन्तको भेलाले ‘सुवास राई बचाउँ अभियान तथा आर्थिक सङ्कलन समिति गठन गरेको छ । इच्छुकले निजको श्रीमती सुस्मिता श्रेष्ठ राईको नाममा रहेको प्रभु बैंकको (२६९०२९६५८४७०००१३) खाता नम्बरमा सहयोग गर्न सक्ने समितिले जनाएको छ ।


संगालोखबर 













