
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-५ होमताङमा एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा एम्बुलेन्स चालक करिब २६ वर्षीय सञ्जीव राई र हतुवागडी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख करिब ५० वर्षीय जयकुमार राई घाइते भएका छन् ।
घाइतेमध्ये जयकुमारको अवस्था गम्भीर रहेको भोजपुरका प्रहरी प्रमुख डीएसपी राजु लामाले जानकारी दिए । आज बिहान प्रदेश १-०२-००१ झ ०७३७ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेको एम्बुलेन्स हतुवागढी गाउँपालिकाको हो ।
‘बिरामी पुर्याएर फर्कने क्रममा दुर्घटना भएको भन्ने जानकारी प्राप्त भएको छ’, डीएसपी लामाले संगालोखबरसँग भने, ‘प्रहरीको टोली घटनास्थल पुगेको छ । बाँकी कुरा खुल्न बाँकी छ ।’
घाइते दुबै जनालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ ।

संगालोखबर 













