
धनकुटा । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनौट भएका छन् । सहमति जुट्न नसकेपछि मतदान प्रकृयाबाट प्रतिनिधि छनौट गरिएको हो ।
खुल्लातर्फ शिव आङ्ला, चिन्तन तामाङ, पर्शुराम नेपाल, निरन राई, खजिन्द्र राई, शान्तिराम गौतम र अर्जुन छाराहाङ निर्वाचित भएका छन् । महिलातर्फ तुलसी राई, निर्मला इवाहाङ, गोमा कार्की र संझना आले निर्वाचित भए । यता, युवातर्फ सरोज राई निर्वाचित भए भने दलिततर्फ नैन विश्वकर्मा सर्वसम्मत भएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।
निर्वाचित सबै प्रतिनिधि केपी ओली पक्षका हुन् । धनकुटामा राजेन्द्र राई र इन्द्रमणि पक्षका उम्मेदवारले मनोनयन दर्ता गरेका थिए । चुनावमा सबै राजेन्द्र पक्षकै प्रतिनिधि चुनिएका हुन् । नेता राई ओलीको पक्षमा खुलिसकेका छन् । उनले अब पुनः ओलीकै नेतृत्वमा पार्टी अघि बढ्नुपर्ने धारणा राख्दै आएका छन् । पराजुली पनि ओली पक्षकै हुन् । पराजुली पक्षबाट खुला कोटामा निरेन तामाङ र मनोज राई, महिला कोटामा तारा तितुङ र युवा कोटामा कमल कार्की चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । तर, चारै जना पराजित भए । विधि विपरित मतदान गराइएको भन्दै आन्दोलित बनेको सो पक्षले चुनाव पनि बहिष्कारको घोषणा गरेको थियो ।
यसैबीच, निर्वाचित प्रतिनिधिहरूलाई आज साँझ प्रमाणपत्र वितरण गरिएको छ । एमाले केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राई, एमाले कोशी प्रदेश कमिटी सदस्य खण्डमान राई, प्रमुख निर्वाचन अधिकृत नहकुल राई लगायतले निर्वाचित प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गर्दै बधाई ज्ञापन गरेका छन् । एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुदैछ ।

गोमा ढुंगाना/संगालोखबर 













