
रौतहट । रौतहटमा परिवारकै सदस्यहरूको मिलेमतोमा एक महिलाको हत्या भएको खुलेको छ । वृन्दावन नगरपालिका-९ भुसाहामा शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनको परिवारकै सदस्यको मिलेमतोमा हत्या भएको खुलेको हो ।
मंगलबार बिहान घटनाको जानकारी पाएपछि खटिएको प्रहरी टोलीले खातुनको शव पुरिएको अवस्थामा फेला पारेको हो । प्रहरीका अनुसार शव घरभित्रै खाडल खनेर गाडिएको अवस्थामा फेला परेको हो ।
मृतकका श्रीमान शेख आदिल भने वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा छन् । घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य फरार रहेका प्रहरीले जनाएको छ । मृतक खातुनको डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई समेत उनीहरूले लिएर फरार भएका प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार खातुन गत कात्तिक १८ गते गुजरा नगरपालिका-७ पल्टुवा स्थित माइतमा विवाहमा गएकी थिइन् । सोही क्रममा नातामा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग अनैतिक सम्बन्ध राखिरहेकै अवस्थामा खातुन भेटिएकी थिइन् । सोही कारणले उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको र टाउकोमा धारिलो हतियार प्रयोग भएको जनाएको छ । फरार परिवारको खोजी भइरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













