इन्दु साह/संगालोखबर


विराटनगर । विराटनगरको पुष्पलाल चोकदेखि तीनपैनीसम्मको सडक कुनै बेला पूर्वी नेपालकै नमूना सडकका रूपमा परिचित थियो । दुई लेन सडकको बीच भागमा बनाइएको आइल्याण्डमा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो भने रातको समयमा सडकलाई उज्यालो बनाउन सोलार बत्ती जडान गरिएको थियो ।

तर अहिले सोही सडकले दुर्घटनाको धराप थापेको छ । सडकभरि रहेका खाल्डाका कारण सवारी आवत-जावत जोखिमपूर्ण बनेको छ । स्थानीय निर्मला पाण्डेका अनुसार उक्त सडकमा दैनिक ५० बढी टिपर गुड्छन् । जसका कारण सडक चाँडै बिग्रने गरेको छ ।

Advertisement

‘दैनिक भारी सवारी साधन आवत-जावत गर्छन्’, उनले भनिन्, ‘जसका कारण मर्मत भएको छोटो समयमा नै सडकमा खाल्डैखाल्डा परेका छन् ।’ पुष्पलाल चोकमा व्यवसाय गर्दै आएकी रितु भण्डारीले हरेक दिन मोटरसाइकल, स्कुटर र सिटी सफारी जस्ता साना सवारी-साधन दुर्घटनामा पर्ने गरेका छन् ।

‘सडककै कारण थुप्रै दुर्घटना देख्नुपरेको छ’, उनले भनिन्, ‘पहिला पूर्वकै नमूना सडक भनिन्थ्यो । अहिले दुरावस्था छ । सडकमा जडान गरिएका सोलार बत्ती पनि धेरै बिग्रिएका छन् । महानगरले मर्मतमा पनि ध्यान दिएको छैन ।’

५३ वर्षीय लल्लु सरदार सिटी सफारी चलाउँछन् । उनले पुष्पलाल चोकदेखि ठूलो मिलसम्मको खाल्डाखुल्डीमा सवारी चलाउन अत्यन्तै जोखिमपूर्ण रहेको सुनाए ।

‘महानगरले मर्मत गरे पनि केही दिनमै पुनः सडकमा खाल्डा पर्न थाल्छन्’, उनले भने, ‘धेरै लोड बोक्ने सवारी-साधन चल्दा सडक भत्किने गरेको छ । जसका कारण दुर्घटनाको जोखिम बढेको छ ।’

महानगरपालिकाका इन्जिनियर सुजन श्रेष्ठका अनुसार पुष्पलाल चोकदेखि ठूलो मिलसम्मको सडकको पूर्वतिरको लेन ६ महिना अघि मात्रै कालोपत्रे गरिएको थियो । तर बीच-बीचका केही स्थान स्थानीयको अवरोधका कारण अधुरो रहेको थियो ।

इन्जिनियर श्रेष्ठले मर्मत गरिएको स्थान चाँडै भत्किनुको कारण ओभरलोड गाडी चल्नु रहेको बताए । उनले खाल्डा भएको स्थानमा महानगरपालिकाले मर्मत गरिरहेको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!